जेठ–१७, महाभूकम्पका कारण खोटाङको बाराहा पोखरी सुक्ने खतरा बढेको छ । गत बैशाख १२ गते गएको विनाशकारी महाभूकम्प र पटक–पटकको पराकम्पनपछि धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको बाराहा पोखरी दिनदिनै सुक्न थालेको हो । 
भूकम्पअघि स्थिर अवस्थामा रहेको उक्त पोखरी भूकम्पपछि दैनिकरुपमा घट्दै गएको बाराहापोखरी संरक्षण तथा पर्यटन विकास समितिका सचिव भुवन श्रेष्ठले बताउनुभयो । सचिव श्रेष्ठका अनुसार उक्त तालमा रहेको पानी दैनिक एक फिट घट्दै गएको छ ।
भूकम्पका कारण सुक्दै गएको खोटाङको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा अवस्थित बाराहापोखरी ।
तस्बिरः शौजन्य/स्थानीय शान्ति समिति खोटाङ
तीन सय ३० मिटर लम्बाई र दुई सय दश मिटर चौडाई भएको उक्त पोखरी दिनदिनै सुक्दै गएपछि पोखरीमा पाइने लोपोन्मुख रातो माछा समेत हराउन थालेका छन् । हिउँदवर्षा सधैं स्थिर रहने पोखरी दिनदिनै घट्दै जानु र माछा पनि हराउँदै जानु आश्चर्य भएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्प जानुअघि स्थिर अवस्थामा रहेको पोखरी अहिले सुक्दै गएको छ, दिनदिनै पानी सुक्दै जानुको कारण भने पक्ता लगाउन सकिएको छैन ।” 
भूकम्प जानुभन्दा पहिले धेरै मात्रामा देखिने रातो माछा पोखरीमा पानीको सतह घट्दै गएपछि थौरै मात्र देखिन थालेको स्थानीयको भनाइ छ । सुक्दै गएको तालमुनी बाराहापोखरी–४ भुल्केमा भने पानीको मात्रा बढेको जनाइएको छ । भुल्के भनिने ठाउँमा भूकम्प गएपछि पानी मात्रा छताछुल्ल भएको जनाइएको छ । सँधै सुख्खा क्षेत्रका रुपमा रहने भुल्के अहिले सिमसार बनेको सचिव श्रेष्ठले जानकारी दिनुभयो । 
पर्यटकीय स्थलका रुपमा रहेको बाराहा पोखरी सुक्न थालेपछि जिल्लाबाट ईन्जिनियरसहितको प्राविधि टोली पठाइएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त टोलीले ल्याएको प्रतिवेदनको आधारमा संरक्षणको काम थालिनेछ, यसमा सबैको सुझावको अपेक्षा गरेको छु ।”
पोखरीमा पानी सुक्न थालेपछि स्थानीय शान्ति समिति खोटाङले समेत त्यसको अनुगमन गरेको छ । समितिका संयोजक ललितकुमार राईका अनुसार उक्त पोखरीको पानी करिब दश÷पन्ध्र फिट घटेको छ । स्थलगत अनुगमनका लागि बाराहापोखरी गएर फर्किएका संयोजक राईले भन्नुभयो, “उक्त ताल संरक्षणका लागि समिति मार्फत हामी पनि पहल गर्छौं, सरकारले तत्काल भू–गर्भविद् पठाएर रोकथाम नगरे बाराहापोखरीको पहिचान नै गुम्ने स्थिति रहेको छ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरी गाविसमा अवस्थित बाराहपोखरीमा हरेको वर्षको हरिवोधनी एकादशीको अवसरमा ठूलो मेला लाग्ने गर्छ  । उक्त पोखरीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन सतबीज छर्ने प्रचन छ । 

उक्त पोखरीमा बराहामाई र शंखेश्वरको पूजाआराधना गरे चिताएको पूरा हुने जनविश्वास रही आएको छ । जीवनमा शान्ति होस् भनी जोडी परेवा उडाउनुका साथै सुद्धताका लागि पोखरीको पानीमा नुहाएर पूजाआराधना गर्ने गरिन्छ । 
उहिले यहा“को एउटा घरमा अगेनोबाट माछा निस्कियो र त्यसलाई पोलेर खादा त्यहा“बाट पानी निस्किएर मगर बस्ती रहेको १२ घर डुबानमा परेकाले यसलाई बराहाताल भनिएको  किम्बदन्ती छ । यस पोखरीमा नुहाए मोक्ष पाउने विश्वास गरिन्छ । 
भुकम्प अगाडिका केही द‌ृष्यहरु