जेठ–१८, “आफ्नो गाउँ, आफै बनाउँ !” भन्ने उक्तिलाई खोटाङको दुर्छिमबासीले व्यवहारमा उतारेका छन् । उनीहरुको आफ्नै लगानीमा छापडाँडा ‘दलश्वर राई’ चोकदेखि उदयपुरको बलम्तासँग जोडिने बतासेघाटसम्मको १२ दशमलव एक किलोमिटर सडक निर्माण गरेर यातायातका सावारी साधन सञ्चालनमा ल्याएपछि खुशियाली समेत मनाएका छन् । 
गाविसको श्रोतबाट सर्भेक्षण गरिएको उक्त रुटको सडक निर्माणमा राज्यको सहयोग नभएपछि स्थानीयले आफ्नै लगानीमा निर्माण गरेका हुन् । ५८ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको उक्त सडकको नाम “होलेसुङ–जनराज राई मार्ग” राखिएको छ । 
 दुर्छिमस्थित होलेसुङ–जनकराज राई मार्गको बतासे घाटमा जीप चढ्ने तयारीमा स्थानीय ।
 तस्बिरः हाम्रो खोटाङ डटकम
२०६८ सालमा काठमाडौंमा रहेका अग्रजहरुको एक भेलाले आर्थिक संकलन अभियान थाल्ने निर्णय गरी २०६९ सालमा शिलान्यास गरेको सडक करिब दुई वर्षकै अवधिमा सम्पन्न गरिएको सडक निर्माणका अगुवा जनकराज राईले जानकारी दिनुभयो । राईका अनुसार आ–आफ्ना गच्छे अनुसारको आर्थिक लगानी र मनैदेखिको श्रम र ईच्छा शक्तिले बिकट भौगोलिक अवस्थामा पनि सडक निर्माण गर्न सफल भएको हो । 
सडक निर्माण सम्पन्न गर्न स्थानीयहरुको श्रमसहितको आर्थिक लगानीले गुणस्तरीय ट्र्याक खुलाउन सफल भएको राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यतिसम्मका काम सम्पन्न गरेऔं, अब राज्यको तर्फबाट स्तरोन्नती र निरन्तरताको पहल गरियोस् ।” सडकको लागि १६ लाख रुपैयाँ प्रदान गर्नुभएका राईले आफ्नै पहलमा ३० लाख रुपैयाँ जुटाइ दिनुभएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सोचेका पनि थिएनौँ, तर उहाँको अथक प्रयास र आर्थिक सहयोगले अन्ततः सफल भइयो ।”
५८ लाख रुपैयाँमा निर्माण भएको सडकमा नाम मात्रको सरकारी श्रोत भएको स्थानीय वुद्धिजीवि भोगिराज चाम्लिङले बताउनुभयो । यो सडक जिल्लाकै सबैभन्दा महत्वपूर्ण सडक भएको सडक निर्माण अभियानमा जुट्नुभएका भोगिराज चाम्लिङको दावी छ । उहाँले भन्नुभयो, “यो सडकले दुर्छिमबासीको लागि मात्र नभइ उदयपुर र सोलुखुम्बुवासीलाई समेत प्रत्यक्ष लाभ पुगेको छ, सुनकोसी नदीमा पक्की पुल निर्माण गर्न सके सगरमाथा पुग्ने सबैभन्दा छोटो दुरीको सडक यही नै हुने छ ।”
सडक बनेपछि त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्न समेत सहज भएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त सडक सञ्चालनमा आएपछि हलेसीमा दर्शनार्थीको संख्या समेत बढेको छ, यसलाई पूर्णरुपमा उपयोगी सडक बनाउन पक्की पुलको आवश्यकता छ ।”
आर्थिक सहयोग संकलनबाट निर्माण गरिएको उक्त सडकको विभिन्न चोकको नामाकरण समेत सहयोगदाताको नामबाट गरिएको छ । स्काभेटर प्रयोगबाट निर्माण गरिएको उक्त सडक बाह्रै महिना सञ्चालनमा आउने उपभोक्ता समितिले जनाएको छ । 
यता, राजनीतिक दलका नेताहरुले यस सडकलाई निरन्तरता दिनको लागि आधार तयार गर्न प्रतिबद्व रहेको जनाएका छन् ।  स्थानीयको संकल्प र कामको प्रशंसा गर्दै बाटो स्तरोन्नती र पक्की पुल निर्माणको लागि पहल गर्ने नेताहरुको भनाइ छ । 
विभिन्न शाखा सडक समेत निर्माण गरिएको उक्त सडक निर्माण समापन कार्यक्रममा जिल्लास्थित दलका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी संघ संस्था, पत्रकार लगायतको उपस्थिति रहेको थियो । स्थानीय तथा उदयपुरको बलम्ताबासीको ठूलो उपस्थिति रहेको खुशियाली मनाउने सडक निर्माण समापन कार्यक्रममा काठमाडौंमा रहेका  दुर्छिमबासी र विकास प्रेमीहरु समेत आएका थिए । 

होलेसुङ–जनकराज राई मार्ग बनेपछिको खुसीयाली (फोटो फिचर)