जेठ–१९, भूकम्पका कारण घरमाथिको ढुङ्गा खस्न लागेपछि खोटाङका आठ घरपरिवार जोखिममा परेका छन् । बैशाख १२ गतेको विनाशकारी भूकम्प र पटक–पटकको पराकम्पनका कारण घरमाथिको ढुङगा खस्न लागेपछि डम्वर्खुशिवालय–४ खाप्तिङकाका आठ घरपरिवार जोखिममा परेका हुन् । 
घरमाथिको बोक्सिङ भन्ने जङ्गलमा रहेको ठूलो ढुङ्गा खस्न लागेपछि स्थानीय सन्तबहादुर विश्वकर्मा, बमबहादुर विश्वकर्मा, भैरबहादुर विश्वकर्मा, रुद्रबहादुर पान्डे, तिलक राई, दिलबहादुर बिष्ट, वुद्धिबहादुर विश्वकर्मा र अमरबहादुर विश्वकर्माको परिवार जोखिममा परेका स्थानीय लगनबहादुर राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपछि ढुङ्गाको वरिपरि सुख्खा पहिरो गइरहेको छ, उक्त ढुङ्गा खस्ने खतरा बढेपछि आठ घरमध्ये तीन घर खुला ठाउँमा सरेका छन् ।” 
भूकम्पपछि राहत वितरण गर्दै गाँउ पुगेका राहत वितरण टोलीले खतरामा रहेका परिवारलाई तत्काल अन्यन्त्र सर्न सुझाव दिएपनि पाँच घरपरिवार सोही ठाउँमा रहेको राईको भनाइ छ । उहाँका अनुसार भैरबहादुर विश्वकर्मा, सन्तबहादुर विश्वकर्मा र अमरबहादुर विश्वकर्माको परिवार बाहेक अन्य परिवार सोही ठाउँमा बसीरहेका छन् । 
भूकम्पछि राहत वितरणबारे अनुगमन गर्दै गाँउ पुगेका स्थानीय शान्ति समितिका संयोजक ललितकुमार राईका अनुसार उक्त ढुङ्गा जुनसुकै अवस्थामा खस्ने अवस्थामा छ । ढुङ्गा खसेमा उक्त गाउँका सबै घरमा क्षति पुग्ने राईको भनाइ छ ।
यसबारे प्रति घरपरिवार एक÷एकवटा पाल तथा राहत प्रदान गरेर अन्यन्त्र सर्न अनुरोध गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पका कारण हल्लिएको उक्त ढुङ्गा वर्षाद्को पानीले लडाउने भएकाले तत्काल सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको हो ।”