भूकम्पबाट घर भत्किएपछि विस्थापित बनेका परिवारको उद्दारका लागि आफ्नै लगानीमा घरटहरा निर्माण गरिदिइएको गणपति रामबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घरटहरा निर्माणसँगै गाउँ–गाउँ पुगेका जवानले एक हजार एक सय ७० जनालाई अस्थायी घरटहरा निर्माणको तालिम दिएका छन्, उक्त कार्यका लागि गणबाट तीन सय ७० जना जवान परिचालन गरिएको छ ।”
भूकम्पपछि जिल्लाको ऐसेलुखर्क, चिसापानी, खोटाङबजार र हलेसीमा अस्थायी क्याम्प खडा गरिएको गणपति थापाको भनाइ छ । जिल्लाका सबै क्षेत्रमा बसोबास गर्ने स्थानीयको तत्काल उद्दार गर्ने उद्देश्यले अन्य विभिन्न ठाउँमा मोवाईल टोली समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सेनाले भूकम्पपछि भग्नावशेष भएका एक सय २६ घर भत्काउन सहयोग गरेका छन् भने, दुई सय ३० घरको सामान सुरक्षित स्थानमा सारी दिएका छन् । यस्तै, एकवटा विद्यालयको कक्षा सञ्चालनका लागि अस्थायी टहरा बनाइएको सेनाले जनाएको छ ।
भूकम्पबाट विस्थापितको उद्दारका लागि जिल्लामा नेपाली सेना बाहेक नेपाल प्रहरीको दुई सय २७ र सशस्त्र प्रहरीको एक सय १६ जना जवान परिचालन गरिएको जिल्ला दैविप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार बैशाख–१२, १३ र २९ गतेको भूकम्पले जिल्लामा आठ हजार बढि घर पूर्णरुपमा क्षति भएको छ ।
जिल्लाका तीनवटै सुरक्षाकर्मीको टोलीले विस्थापित परिवारको उद्दारदेखि राहत वितरण र क्षतिको विवरण संकलन तथा प्रमाणीकरणको काम समेत गरिरहेको जनाइएको छ । खोटाङ भौगोलिक हिसाबले दुर्गम जिल्ला भएकाले क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको प्रजिअ सापकोटाको भनाइ छ ।
बैशाख–१२, १३ र २९ गतेको महाभूकम्पबाट पीडित बनेका जिल्लाबासीको उद्दार, राहत वितरण तथा घरटहरा निमार्ण गर्दै जबर जङ्ग गण मुडे ब्यारेकका नेपाली सेना ।