
जेठ–२५, खोटाङको दिक्तेल नगरपालिकाले बजारक्षेत्रका घरका बरण्डा हटाउन निर्देशन दिएको छ । केही समयअघि ल्याइएको दमकल र ट्रिपरको आवतजावतमा समस्या आएपछि नगरपालिका र खोटाङ उद्योग बाणिज्य संघले घरको तल्लो बरण्डा हटाउन निर्देशन दिएको हो ।
नगरपालिकाले माइकिङ गर्दै आवतजावत गर्ने दमकल र ट्रिपर छेक्ने बरण्डा तत्काल काटेर हटाउन भनेको छ । आगलागीकाक्रममा तत्काल हिडाउनुपर्ने दमकल र फोहोर उठाउनका लागि ओहोरदोहोर गरिरहनुपर्ने ट्रिपर ठोकिने भएकाले घरको तल्लो बरण्डा हटाउन आग्रह गरिएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताउनुभयो । तत्कालका लागि दमकल ठोकिने र छिर्न नसक्नेगरी अवरोध गर्ने किसिमका घरका बार्दली मात्र हटाउन भनिएको ढकालले जनाउनुभयो ।
नगरपालिका र बाणिज्य संघले सडकका पेटीमा व्यापारिक सामान राखेर बिक्री वितरण नगर्न र सडक पेटीमा राखिएका सामान तत्काल हटाउन चेतावनी दिएको छ । नगरपालिकाले नगरलाई खुल्ला दिशामुक्त घोषणाकालागि अल्टिमेटम समेत दिएको जनाएको छ ।