खोटाङमा तीन महिला हत्याको घटना रहस्यमै रह्यो, लामो समयसम्म पत्ता लागेन दोषी

खोटाङ भदौ–३, खोटाङमा तीन महिलाको श्रंखलाबद्द हत्या भएको लामो समय बित्दा समेत हत्यामा संलग्न दोषी पत्ता नलाग्नुले घटना रहस्यामय बनेको छ ।  २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र त्यसपछि क्रमशः भएको दुई महिलाको हत्यामा संलग्न दोषी पत्ता अझै पत्ता लाग्न नसक्दा घटना रहस्यमय बनेको हो । 
किशोरी तामाङको हत्याबारे अनुसन्धान गर्दागर्दै २०७४ साल जेठ १६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्या भएको थियो । 
हत्याको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाए पनि तीनै जनाको हत्यामा संलग्न दोषीलाई अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन डिएसपी नविनकिशोर प्रधान हुँदै डिएसपी लोकदर्शन थापाको सरुवा हुँदासम्म महिलाको हत्यामा संलग्न दोषीको पहिचान हुन नसकेको पीडितको गुनासो छ । घटना घटेको लामो समय बित्दा समेत घटनाको कारण र संलग्न दोषी पत्ता नलाग्दा पीडित परिवार थप पिडित बनेका छन् । 
यसैबीच, नेकपा खोटाङका नेताले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन् । नेकपा (माओबादी केन्द्र)का नेता देवान किराती नेतृत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेट गरी तीन महिलाको हत्यारालाई पत्ता लगाएर कानुनी कारबाहीका लागि हालै ध्यानाकर्षण गराएका हुन् ।
 भेटमा गृहमन्त्री थापाले महिलाको हत्याका विषयमा सत्यतथ्य पत्ता लगाएर कारबाहीका लागि प्रतिबद्धता जनाउनुभएको नेता किरातीले जनाउनुभयो । बिभत्स हत्याको घटना भएको लामो समयसम्म दोषी पत्ता नलाग्दा झनै त्रास बढेको स्थानीय बताउँछन् ।