जेठ–२६, स्वीस सरकारबाट खोटाङका भूकम्प पिडितलाई पाँच हजारभन्दा बढि त्रिपाल प्राप्त भएको छ । बैसाख–१२ गतेको महाभूकम्प र सो को पराकम्पनका कारण घर भत्किएर अलपत्र बनेका पिडितको सहयोगकालागि जिल्ला दैबीप्रकोप उद्धार समितिको आग्रहमा स्वीस सरकार बिकास सहयोगबाट पाँच हजारभन्दा बढि थान त्रिपाल प्राप्त भएको हो ।
स्थानीयको अस्थायी छाप्रो र टहरा निर्माणकालागि पाँच हजार नौ सय ९९ र भत्किएका विद्यालयमा अस्थायी कक्षा कोठा निर्माणकालागि ठूलो आकारको पाँच सय थान त्रिपाल प्रदान गरिएको स्वीस सरकार बिकास सहयोगका सम्पर्क अधिकृत शुशिल श्रेष्ठले बताउनुभयो । स्वीसबाट राहत स्वरुप प्राप्त भएको त्रिपाल छ हजार घरधुरीलाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वीस सरकारबाट त्रिपाल बाहेक १० हजार नौ सय ९८ थान कम्बल, पाँच हजार एक सय ७२ मिटर कपडा, १० हजार नौ सय ९८ वटा साबुन, एक हजार सात सय २४ बोतल पियूष, चार सय थान मेट्रेस प्राप्त भएको प्रशासनले जनाएको छ । भूकम्प पिडितको सहयोगार्थ स्वीस सरकारबाट प्रतिपरिवार दुई/दुई थान कम्बल, तीन/तीन मिटर कपडा, एक/एक सेट पियूष सहित एक/एक थान पाल प्राप्त भएको हो ।
स्वीस सरकारबाट प्राप्त भएको त्रिपाल क्षतीग्रस्त विद्यालयमा टाँगेर अस्थायी कक्षा कोठा निर्माण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । खुल्ला चौंरमा राखेर पठनपाठन गराउनुपर्ने अवस्थामा पुगेका बिद्यालयलाई तत्काल आवश्यक पालहरु उपलव्ध गराउँदै अस्थायी सिकाई केन्द्र बनाएर पठनपाठन सुचारु गरिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताए ।
कार्यालयका अनुशार भूकम्पले ७३० कोठा भएका जिल्लाका १८३ विद्यालय पूर्णरुपमा ध्वस्त बनेको छ । यस्तै, १८४ विद्यालयमा अधिक र १८५ विद्यालयमा सामान्य क्षती पुगेको छ । २० वटा चर्पी भत्किएका छन् ।