खोटाङ, जेठ २८ । खोटाङका राजनैतिक पार्टीले भूकम्पका कारण घर भत्किएका सबै पिडितलाई आवास राहत दिनुपर्ने बताएका छन् । रिपोटर्स क्लव खोटाङ शाखाले बुधबार दिक्तेलस्थित व्लोसम होटलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा जिल्लाका नेताहरुले भूकम्पका कारण एक वा सोभन्दा बढि घरहरु गुमाएका सबै पिडितलाई आवास राहत दिनुपर्ने बताएका हुन् ।
उनीहरुले दुईभन्दा बढि घर भएका तर भूकम्पमा एउटा घर बाँकी रहेका पिडितलाई आवास कर्जा नदिने सरकारको मापदण्डको बिरोध गरेका छन् । नेपाल सरकारको गृह–मन्त्रालयले ‘घर भत्किएर मर्मत गर्दा समेत बस्न नमिल्ने भएका, सगोलमा रहेका परिवार एकाघर (बाबुआमा, श्रीमानश्रीमती) को नाममा अन्यत्र कतै घर नभएका भूकम्प प्रभाबितलाई मात्र अनुदानकालागि योग्य मानिने’ भनेको छ । राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईले भत्किएका हरेक घरधनीलाई आवास कर्जा दिनबाट बञ्चित गराउन नहुने बताए । ‘घर भत्किएका सबै पिडित हुन्,’ राप्रपाका अध्यक्ष राईले भने, ‘उनीहरु सबैलाई राहत दिनुपर्छ, घरको संख्या हेरेर हुँदैन ।’ राजनैतिक दलका नेताहरुले भत्किएको र बाँकी रहेको घर संख्याका आधारमा आवास कर्जा वितण गर्न नहुनेमा जोड दिएका छन् ।
दुईभन्दा बढि घर भएका तर भुकम्पमा एउटा घर बचेका घरधनीलाई आवास राहत नदिने मापदण्डले भूकम्प पिडितमाथि बिभेद भएको नेकपा माओबादीका जिल्ला सेक्रेटरी सुनिल चौंलागाईले बताए । ‘जसको जति वटा घर होस, जति भत्किएको या जोगिएको होस,’ सेक्रेटरी चौंलागाईले भने, ‘उसको एउटा मात्र घर भत्किएको छ भनेपनि राहत दिइनुपर्छ ।’ एउटा घर बाँकी रहेकै आधारमा कसैलाई आवास राहत दिनबाट छुटाउन नहुने राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठले बताए । कतिपय गाबिसमा मादक पदार्थ सेवन गरेका प्रहरीले भूकम्प पिडितको तथ्यांक संकलन गरेकाले यतार्थ बिवरण आउन नसकेको एमाओबादीका जिल्ला सह–सचिव सुरेश राईले उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेमकुमार राई, एमाले अध्यक्ष बबी चामलीङ, संघीय समाजबादी पार्टीका पिके खम्बू, नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष श्याम राई लगायतले आवास राहतको विषयमा बोलेका थिए । कार्यक्रम रिपोटर्स क्लव शाखाका अध्यक्ष दिलीप खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।