खोटाङ, जेठ २८ । महाभूकम्पले खोटाङमा पु¥याएको क्षतीको अन्तिम तथ्यांक सार्वजनिक गरिएको छ । गत बैसाख–१२, १३ र २९ गतेको भुकम्प र त्यसको पराकम्पनका कारण जिल्लामा पुगेको क्षतीको अन्तिम विवरण सार्वजनिक गरिएको हो । जस अनुसार पूर्ण र आंशिक गरी साढे १८ हजार बढी घरमा क्षति पुगेको छ ।
भूकम्पका कारण जिल्लाका छ हजार एक सय ६७ घर पूर्ण र १२ हजार सात सय ८० घरमा आंशिक क्षती पुगेको जिल्ला दैबीप्रकोप उद्धार समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए । भूकम्पका कारण घर भत्किँदा जिल्लाका २८ हजार आठ सय १० सर्वसाधारण बिस्थापित भएका छन् । बिस्थापितहरु बिभिन्न दाताबाट प्राप्त भएको त्रिपाल र जस्ताले बनाइएको छाप्रो र टहरामा कष्टका साथ बसिरहेका छन् ।
भूकम्प पिडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले सरकारी निकाय, आफ्नै क्षेत्रीय र केन्द्रीय कार्यालय तथा बिभिन्न संघसंस्थाबाट जुटाइएको ७ हजार ५७६ थान त्रिपाल बितरण गरिसकेको जनाएको छ । भूकम्प पिडितकालागि शाखामा हालसम्म १२ हजार २९० थान त्रिपाल जुटेको रेडक्रस शाखाले जानकारी दिएको छ ।
जिल्लाका भूकम्प पिडितलाई हालसम्म एक करोड सात लाख ६४ हजार राहत रकम बितरण भइसकेको जिल्ला दैबीप्रकोप उद्धार समितिले जनाएको छ । भूकम्पले पूर्ण क्षती पुगेका दुई हजार दुई सय ६६ घरलाई ९७ लाख ३९ हजार र आंशिक क्षती पुगेका ३२२ घरपरिवारलाई १० लाख २५ हजार राहत रकम प्रदान गरिएको हो । राहत रकम बाँड्नेक्रम जारी रहेको प्रशासनले जनाएको छ ।