
खोटाङ, जेठ २९ । खोटाङलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाकालागि सदरमुकाम दिक्तेल नगरपालिका नै प्रमुख बाधक बनेको छ । जिल्लाका सबै ७२ गाबिस खुल्ला दिशामुक्त घोषणा भइसके पनि दिक्तेल नगरपालिकाभित्र अझै चर्पी बनिनसकेका कारण जिल्लालाई खुल्ला दिशामुक्त घोषणाकालागि नगरपालिका नै प्रमुख बाधक बनेको हो ।
![]() |
दिक्तेल नगरपालिकामा चित्राले हज ढाकिएको चर्पी । |
नगरपालिकामा अझै पनि व्यवस्थित चर्पी बनीनसकेका कारण जिल्लालाई तोकिएको समयमा खुल्ला दिशामुक्त क्षेत्र घोषणाकालागि मूख्या चुनौती देखिएको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ । २०६८ सालदेखि सुरु गरिएको सरसफाई अभियान अन्तरगत जेठ–१६ गते जिल्लाका सबै गाबिस खुल्ला दिशामुक्त घोषणा भइसकेपनि नगरपालिकामा समस्या देखिएको समितिका सचिवालय संयोजक धनप्रसाद गिरीले बताए । नुनथला जिल्लाकै पहिलो र वाप्लुखा जिल्लाकै अन्तिम खुल्ला दिशामुक्त गाबिस बनेको छ ।
दिक्तेल नगरपालिकाको बजार क्षेत्रमा अझै पनि १४ घरमा चर्पी नबनेका कारण जिल्लालाई खुल्ला दिशामुक्त घोषणा अभियानमा चुनौती देखा परेको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताए । नगरपालिकाभित्र कतिपय घरमा चर्पी बन्दै नबनेको, बनेका चर्पी पनि व्यवस्थित र मापदण्ड अनुशारको नभएको कार्यालयले जनाएको छ ।
सदरमुकामभित्रका कतिपय घरमा वाटरशील चर्पी छन् तर त्यसको हज भने खुल्लै छाडिएको पाइएको रेडक्रस उपशाखा दिक्तेलका सभापति कृष्णप्रसाद आचार्यले बताए । कतिपय हजलाई प्लाष्टिक तथा चित्राले ढाकिएका छन् । दिक्तेलकै होटल व्यवसाय सञ्चालन भइरहेका कतिपय घरका चर्पीको फोहोरमैला सिधै पाइपबाट खुल्ला ठाउँमा छाडेको पाइएको रेडक्रसको अनुगमन टोलीको निष्कर्ष छ । चर्पीको उचित व्यवस्थापनको अभावमा दिशापिसाव जान समेत दुर्गन्धको कारण नाक थुन्नुपर्ने अवस्था छ ।
‘नगरपालिकाका कतिपय घरमा अझै पनि मापदण्ड अनुशारको चर्पी बनेको छैन,’ समितिका सचिवालय संयोजक गिरीले भने, ‘चौध घरमा चर्पी नबनाइएकै कारण जिल्लालाई खुल्ला दिशामुक्त घोषणा मिति सर्ने अवस्था देखिएको छ ।’
नगरपालिकाभित्र चर्पी निर्माण भए नभएको अनुगमनकाक्रममा चर्पी बनाउन आव्हान गर्दै हिँड्ने टोलीलाई कतिपयले उल्टै गाली गर्ने गरेका छन् । अनुगमन टोलीका अनुशार चर्पी बनाउनकालागि आग्रह गर्दा उल्टै ‘सरकारको सहयोग दिलाइदिन’ भन्ने गरेका छन् । ‘बरु गाउँ सफा रहेछन्, चर्पी बनाउने पनि गाउँमै रहेछन्,’ आचार्यले भने, ‘सदरमुकाममा फोहोरमैलाको व्यवस्थापन नभएको रहेछ, चर्पी बनाउन आग्रह गर्दा हामीले उल्टै तुच्छ गाली समेत सहनु प¥यो ।’
कतिपय स्थानीयको चर्पी बनाउने जग्गा समेत नभएका कारण खुल्ला दिशामुक्त घोषणा अभियानमा समस्या थपिएको छ । दिक्तेलकै बजारक्षेत्रको रत्नपार्कमा एक स्थानीयको घरबाहेक चर्पी बनाउने एक चपरी जग्गा छैन । एक नगरपालिका र ७२ गाबिस रहेको खोटाङलाई बैसाख–२३ गते खुल्ला दिशामुक्त घोषणा गर्ने मिति निर्धारण गरिएको थियो । तर भूकम्पका कारण अभियान प्रभाबित भएको संयोजक गिरीले बताए ।