![Hamrokhotang](https://hamrokhotang.com/wp-content/uploads/2020/04/Hamrokhotang-696x418.jpg)
खोटाङ, जेठ ३० । दुधकोसीमा डुबेर खोटाङका एक बालक बेपत्ता बनेका छन् । नदीको पानीमा खेल्नेक्रममा च्यास्मीटार–२ खानीगाउँका १२ वर्षीय केशब बिश्वकर्मा बेपत्ता बनेका हुन् ।
उनी शुक्रबार दिउँसो नदीको किनारमा बसेर पानीमा खुट्टा हालेर खेलीरहेको अवस्थामा चिप्लिए बेपत्ता बनेको आफन्त मोहन बिश्वकर्माले बताए । गेलुङ्खोला दोभानबाट नदीमा बेपत्ता बनेका बालकको अहिले प्रहरी र स्थानीयबासीले खोजी गरिरहेका छन् ।
सोलुखुम्बुको हुंगा खोलाबाट बाढी आएको दोश्रो दिन माछा टिप्न केशव साथीहरुसँग दुधकोसी पुगेका थिए । बेपत्ता बालक घरका एक्लो छोरो हुन् । बाढीमा आएको माछा टिपेर पोलेर खाएको केही समयपछि नै उनी नदीमा बेपत्ता बनेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताए ।
जेठ–१ गते पनि माछा मार्नेक्रममा महेश्वरी–१ का २४ वर्षीय नेपाल राई दुधकोसीमा बेपत्ता बनेका थिए । उनको शव हप्ता दिनपछि सल्ले–३ स्थित महादेवबेसीमा फेला परेको थियो ।