खोटाङ, जेठ ३१ । खोटाङमा गाईघाट–बुईपा ३३ केभी बिद्युत प्रशारण लाईनको परिक्षण प्रशारण सुरु गरिएको छ । 
हालसम्म ११ केभी क्षमताको विद्युत प्रशारण हुँदैआएको गाईघाट–बुईपा प्रशारणलाइनलाई ३३ केभीमा ‘अपग्रेड’ गरिएसँगै यसको परिक्षण सुरु गरिएको हो । 
खोटाङको बुईपामा निर्माण गरिएको बिद्युतको सव–स्टेशनलाई चालु गराउँदै ३३ केभीको बिद्युत प्रशारणकालागि परिक्षण सुरु गरिएको नेपाल बिद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ । हाल उदयपुरको जलजले र रसुवाबीचको ट्रान्स्मिसनलाईन र बुईपा सव–स्टेसन चार्ज गर्नेकाम भइरहेको प्राधिकरण शाखाका प्रमुख पुरुषोत्तम रेग्मीले बताए । ‘जिल्लामा एघार केभीको विद्युत प्रशारण भइरहेको थियो, अव तेत्तिस केभीको बिद्युत प्रशारण हुन्छ,’ रेग्मीले भने, ‘यसकालागि ट्रान्स्मिसनलाईन र सव–स्टेसन चार्ज गरिरहेका छौँ ।’ ३३ केभीको प्रशारण लाईन सुचारु भएसँगै जिल्लाका सेवाग्राहीले लोडसेडिङ, कम भोल्टेज लगायतका समस्याबाट मुक्ती पाउने अपेक्षा गरिएको छ । 
केही दिन यता ११ केभीको सामान हटाएर ३३ केभीको सामान जडान गरी परिक्षण सुरु गरिएको सव–स्टेशनका आयोजना प्रमुख चन्द्रबीर खड्काले बताए । खड्काले लिच्कीराम्चेमा ७५० केभीको सहायक सव–स्टेशनलाई समेत चार्ज गर्ने काम भइरहेको जानारी दिए ।  
सव–स्टेशनको अभावमा १२ वर्ष ढिलागरी गाईघाट–बुईपा ३३ केभी प्रशारणलाई सञ्चालनमा ल्याउन लागिएको हो । माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्वुमा विद्युत विस्तार गर्ने उद्धेश्यकासाथ ११ केभीलाई ३३ केभी बनाउने काम गरिएको कार्यालयले जनाएको छ । ३३ केभी प्रशारण सुरु भएपछि बुईपा सव–स्टेसन र लाहानबीच सिधा सम्पर्क स्थापित हुने रेग्मीले जनाए । ११ केभी क्षमताको बिद्युत प्रशारण लाईनबाट जिल्लाका ३४ भन्दा बढि गाविसका ९ हजार ७५० उपभोक्ताले विद्युत उपभोग गरिरहेका छन् ।