
क्याम्पसमा कार्यरत प्राध्यापकहरु रामप्रसाद राई, कृष्णबहादुर राई, हर्कवीर राई, रविन सुनुवार र राजमणि राईले वैधानिकरुपमै फर्म दर्ता गरेर कृषिमा लगानी गरेका छन् । उनीहरुले ‘नमुना कृषि फर्म’ नाम दिएर बङ्गुर पालन तथा विभिन्न प्रजातिका तरकारी खेती समेत सुरु गरेका हुन् ।
वार्षिक ३० हजार रुपैयाँ भाडा तिर्नेगरि साँढे पाँच रोपनी खाली जग्गा लिएर फर्म सुरु गरिएको सञ्चालक रविन सुनुवारले जानकारी दिए । उनले भने, “हाम्रो जस्तो कृषि प्रधान देशमा कृषिप्रति कृषकको वितृष्णा बढ्दै गएको छ, त्यसैले उनीहरुले छाडेको खाली जग्गा भाडामा लिएर सामूहिक रुपमा फर्म सुरु गरेका हौं ।”
उनीहरुले पहिलो चरणमा २५ वटा बङ्गुर लगाएका छन् भने, चारवटा टनेल बनाएर गोलभेडा, तितेकरेला, खुर्सानी, विभिन्न जातका तरकारी खेती लगाएका छन् । जिल्लामै पाइने स्थानीय जातको बङ्गुर पाठा खरिद गरेर फर्ममा हालिएको जनाइएको छ ।
उनीहरुले फर्ममा काम गर्ने दुई जनालाई मासिक नौं हजार तलब दिएका छन् । पछिल्लो समय युवा पुस्ता वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनेक्रम बढेकाले उनीहरुलाई रोजगारी दिलाउन फर्म बिस्तार गर्दै जाने सुनुवारको भनाइ छ ।
भर्खरै सुरु गरिएको फर्मबाट एघार क्विण्टल गोलभोडा र पाँच क्विण्टल काउली बिक्री गरिसकिएको सुनुवारले जानकारी दिनुभयो । सामूहिक रुपमा सुरु गरिएको फर्मबाट मासिक २० हजार आम्दानी हुन थालेको उहाँको भनाइ छ ।