खोटाङ जेठ–३०, जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै बिजयी भएका छन् । स्थानीय तह अन्तर्गत नै आज सोमबार सम्पन्न मतदानबाट कांग्रेस, माआबादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन बिजयी भएका हुन् ।

दुई नगरपालिका र आठ गााउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा गठबन्धनको तर्फबाट प्रमुखमा जनता समाजवादीका सनबहादुर राई र उपप्रमुखमा माओवादी केन्द्रका सुरेश तामाङ बिजयी हुनुभएको हो । प्रमुखमा बिजयी राईले एमालेका किशोर श्रेष्ठलाई १६ मतले पछि पार्नुभएको हो ।

यस्तै, उपप्रमुखमा बिजयी तामाङले एमालेका उम्मेदवार सन्तोष राईलाई १६ मतले नै जित्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ ।

समन्वय समितिका प्रमुख तथा उपप्रमुखको लागि कूल २० मत खसेको कार्यालयले जनाएको छ ।

यता, अन्य सदस्यमा भने गठबन्धनको सातै जना सदस्य निर्बिरोध निर्बाचन भएको छ । गत २८ गते मनोनयन दर्ताका क्रममा एमालेको तर्फबाट उम्मेद्वारी नपरेपछि निर्विरोध सबै सदस्य गठबन्धनको निर्बिरोध भएका थिए । निर्विरोध हुनेहरुमा खुला सदस्यमा कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ रहनुभएको छ ।

त्यस्तै, महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीकी दिलकुमारी राई निर्विरोध हुनुभएको छ । दलित सदस्यमा पनि माओवादी केन्द्रकी चमेली विश्वकर्मा निर्विरोध हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयकी सहायक निर्वाचन अधिकृत प्रतिभा राईले बताउनुभयो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट कांग्रेसले ६ पालिका प्रमुख र चार उपप्रमुख जितेका थिए । माओबादी केन्द्रले दुई प्रमुख र तीन उपप्रमुख जित्दा एमालेले दुई प्रमुख र दुई जना उपप्रमुखमा बिजयी भएका थिए ।
जनता समाजवादीले एक जना उपप्रमुखमा जीत हासिल गरेका थिए ।।