खोटाङ, असार ७ । भूकम्पले क्षतविक्षत बनाएको खोटाङको पश्चिमी गाविस बाहुनीडाँडा–५ ट्याम्टुकबाट मानवबस्ती हटाउन नपर्ने भएको छ ।
भूकम्पबाट उच्चजोखिमयुक्त बस्ती तथा आवास पहिचानकालागि खानी तथा भू–गर्भ विभागले काठमाडौंबाट पठाएको भू–गर्भबिदको टोलीले ट्याम्टुकका मानवबस्तीलाई अन्यत्र स्थानान्तरण गर्न नपर्ने निष्कर्ष निकालेको हो ।
गत बैसाख–१२ गतेको भूकम्प र सोको पराकम्पनका कारण गाउँका सबै दुई दर्जन बढि घरहरु खण्डहरमा परिणत भएको भएपनि गाउँका बिस्थापितलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था नदेखिएको भू–गर्भबिद पृथ्बी श्रेष्ठले बताउनुभयो ।
भू–गर्भबिदको टोलीले भूकम्पका कारण जोखिमपूर्ण धाँजाहरु नफाटेका कारण बस्तीलाई नयाँ ठाउँमा लैजान नपर्ने बताएको छ । पूरानै ठाउँमा नयाँ जग हालेर बलियो र हल्का किसिमको घर बनाएर बस्ती बसाउन सकिने श्रेष्ठले जानकारी दिनुभयो । 
महाभूकम्पका कारण अन्यन्त जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई अन्यत्र लगेर अस्थायी आवासको व्यवस्थापनकालागि स्थलगत अध्यायनका क्रममा दुई जना भू–गर्भबिदको टोली जेठ–२९ गते बाहुनीडाँडाको ट्याम्टुक पुगेका थिए ।