
असार ८ । आर्थिक वर्ष ०७१/०७२ मा रोजगारीको सिलसिलामा विदेश गएका ९ जना खोटाङ्गेको ज्यान गएको छ ।
जनसेवा समाज नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना (सामी)ले दिएको जानकारी अनुसार गएको एक वर्षको अवधिमा ९ जनाको मृत्यु भएको, ४४ जना ठगीमा परेको, ११ जना जेल परेको र उद्दारका लागि ४४ वटा उजुरी परेको जनाइएको छ ।
परियोजनाद्धारा सञ्चालित सूचना केन्द्रमा परेको मृत्युको उजुरीमध्ये ६ वटा सफल र ३ वटा प्रक्रियामा रहेको, ठगीको उजुरीमध्ये १८ वटा सफल र २६ वटा प्रक्रियामा रहेको सूचना केन्द्रका कार्यक्रम संयोजक नविन्द्र राईले जानकारी दिनुभयो । राईका अनुसार केन्द्रमा ११ जना खोटाङ्गे कामदार विदेशी जेलमा परेको उजुरी प्राप्त भएको छ । जसमध्ये ५ वटा सफल र ६ वटा प्रक्रियामा रहेको छ ।
यता विभिन्न प्रकारका समस्यामा परेकाहरुको उद्दारको उजुरीमध्ये २२ वटा सफल र २२ वटा प्रक्रियामा रहेको राईको भनाइ छ । वैदेशिक रोजगारीको क्रममा विदेश गएर ठगीएकाहरुलाई केन्द्रका पहलमा ९ लाख ७१ हजार १३०* रुपैयाँ तथा ३५ लाख ९१ हजार रुपैयाँ मृतकका परिवारलाई क्षतिपूर्ती उपलब्ध गराइएको परियोजनाका कार्यक्रम अधिकृत रमेश राईले जानकारी दिनुभयो ।
यसैबीच, वैदेशिक रोजगारीमा जान चाहने कामदारहरुको लागि सूचना तथा परामर्श दिने उद्देश्यले सञ्चालनमा आएको यस केन्द्रले सञ्चालन गर्ने क्रियाकलाप र सेवाहरुको विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदराज खरेल लगायतको टोलीले अनुगमन समेत गरेको थियो ।
*समाचारमा ९ लाख ७१ हजार १३० हुनुपर्नेमा भूलबस् ९७ लाख एक हजार १३० भएकाले सच्याइएको ।
*समाचारमा ९ लाख ७१ हजार १३० हुनुपर्नेमा भूलबस् ९७ लाख एक हजार १३० भएकाले सच्याइएको ।