
असार ८ । आप्रवासी हकहित संरक्षण केन्द्र खोटाङले वैदेशिक रोजगारीका लागि न्यूनतम लागतमा खाडी मूलुक र मलेसिया कामदार पठाउन माग राखेका छन् ।
केन्द्रले सरकारले तोकेको मूल्यभन्दा दोब्बर बढी रकम तिरेर कामदारहरु वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा ०७२ जेठ २६ गते श्रम तथा रोजगार मन्त्रालयले गरेको निर्णय कार्यान्वयनको माग गरेको हो ।
केन्द्रका उपाध्यक्ष चित्रकुमार राई तथा सचिव डेगराज आचार्यद्धारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै यस्तो गरेको जनाइएको छ ।
मंगलबार बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “स्वास्थ्य व्यवसाय संघले स्वास्थ्य परीक्षणमा गर्न लागेको मूल्यवृद्धि तत्काल रोक्नुपर्ने, खाडी मूलुक र मलेसियामा सरकार स्वयमले कामदार पठाउनुपर्ने र गैर कानुनी रुपमा वैदेशिक रोजगारीमा पठाउन सक्रिय रहेका गैरकानुनी एजेण्टहरुलाई तत्काल कारबाही गरिनुपर्छ भनिएको छ ।”
ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले केन्द्रको ज्ञापनपत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले भन्नुभयो, “तपाईहरुले उठाएको माग जायज छ, यसप्रति सम्बन्धित निकायमा पठाएर सहयोग गर्ने छु ।”