खोटाङ १० असार  । नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य एवं पुर्वसांसद केपी फुयाँल खोटाङको बालबालिका मावि मात्तिमका व्यवस्थापन समितिका अध्यक्ष हुन् । फुयाँल अध्यक्ष रहेको माविले यसपटकको एसएलसी परिक्षामा शुन्य नतिजा ल्यायो । त्यस बिद्यालयले एक जनापनि विद्यार्थी उत्तिर्ण गराउन सकेनन् ।

यस्तै, केशव कार्की सरस्वती उच्चमाबि सप्तेश्वरछितापोखरीका प्रअ हुन् । विद्यालयको प्रअबाहेक उनी कांग्रेसको मनोनित जिल्ला सचिवको भूमीकामा पनि छन् । प्रअ र पार्टीको सचिवको दोहोरो भूमिकामा रहेका कार्कीको विद्यालयले पनि यसपल्टको एसएलसि परिक्षामा निल खाए । राम्चे निकेतन माबि बतासेका व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद दंगाल नेकपा एमालेको जिल्ला उपाध्यक्ष हुन् । दंगाल व्यवस्थापन समिति अध्यक्ष रहेको राम्चे निकेतन माविले पनि एसएलसिमा शुन्य नतिजा ल्याए । यस्तै, एमाओबादीका जिल्ला सदस्य सुवासचन्द्र राई अध्यक्ष रहेको बालकन्य उच्चमाबि फाक्टाङले पनि एसएलसिमा एकजना विद्यार्थी उत्तिर्ण गराउन सकेनन् ।

यी केही उदाहरणहरु हुन् । विद्यालयको प्रअ वा व्यवस्थापन समितिको अध्यक्ष सम्हालेका नेताहरुको अधिकांश बिद्यालयको नतिजा सन्तोषजनक आउन सकेन । सिंगो पार्टी हाँक्न सक्ने भूमीकामा पुगेपनि प्रअ र व्यवस्थापन समिति अध्यक्ष बनेका नेताहरुकै विद्यालयको नतिजा उल्टो देखिनु दुःखद ठान्छन् राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ । बिशेषगरी शिक्षकहरुले शिक्षण पेशालाईभन्दा राजनितीलाई प्राथमिकता दिनु र नेताहरुले व्यवस्थापन समितिको पद ओगटेका कारण एसएलसिको मात्र नभएर समग्र शैक्षिकस्तर खस्किएको उनको आरोप छ । ‘कतिपय शिक्षकहरु पार्टीको जिल्ला कमिटिमा बसेका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘पढाउनेबेलामा पार्टीको झण्डा बोकेपछि शैक्षिक नतिजा राम्रो आउने कुरै भएन ।’ यसपल्टको एसएलसि परिक्षामा खोटाङका १४ विद्यालयको नतिजा शुन्य भएको छ । यो गत बर्षकोभन्दा तीनले बढि हो । यसपल्ट १६ बिद्यालयले एक÷एक जनालाई मात्र पास गराउन सकेका र निल खानबाट जोगिए । सुक्रबार सार्वजनिक भएको नतिजा अनुशार दाम्ली माबि डिकुवा, बालबालिका माबि मात्तिम, सिद्धेश्वरी माबि खिदिमा, शान्ति माबि छोरम्बु, सरस्वती उच्चमाबि सप्तेश्वरछितापोखरी, जनता माबि बतासे, राम्चे निकेतन माबि बतासे, बालकन्य उच्चमाबि फाक्टाङ, सिंहदेबी माबि बोपुङ, लक्ष्मी माबि काहुले, जलेश्वरी माबि डम्बर्खुशिवालय, शिक्षानिकेतन माबि देबिस्थान, जालपा माबि नुनथला र बेतुवा माबि फाक्टाङ निल भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला स्तरका नेताले सम्हालेका अन्य बिद्यालयको नतिजा पनि सन्तोषजनक छैन । एमाले सचिवालय सदस्य चर्च बिक अध्यक्ष रहेको जनता उमाबि बसाते, कांग्रेसका पुर्वक्षेत्रीय उपसभापति प्रल्हाद बस्नेत अध्यक्ष रहेको लक्ष्मी माबि काहुले लगायतको नतिजा पनि शुन्य भएको छ ।

नेता बनेर जागीर खाने शिक्षक र नामकालागि व्यवस्थापन समितिको अध्यक्ष ताक्ने नेताहरुका कारण शैक्षिक गुणस्तरमा प्रयक्ष अशर परेको सामुदायीक बिद्यालय व्यवस्थापन समितिका जिल्ला अध्यक्ष प्रतिमान राईले बताए । ‘कामको लागि पद ओगट्नु र जिम्मेवारी लिनु अस्वभाबिक होइन,’ अध्यक्ष राईले भने, ‘तर केवल नामकालागि अध्यक्ष बन्नु उचित होईन ।’ उनका अनुशार छिमेकी बिद्यालयबाट आएका कमजोर बिद्यार्थीका कारण पनि कतिपय विद्यालयको प्रबेसीका नतिजा ‘जिरो’ भएको हो । शैक्षिक सुधारकालागि अध्यक्ष वा प्रअ बन्ने संस्कृतिको बिकास नभएसम्म शिक्षाको गुणस्तर सुधार असम्भव रहेको राईले बताए । यसकालागि साना कक्षामा पढाउने हरेक शिक्षक समेत गम्भीर हुनुपर्ने उनी बताउँछन् । ‘एकैचोटी एसएलसिमा राम्रो नतिजा खोजेर मात्र हुँदैन,’ ज्योती माबि जालपाका अध्यक्ष समेत रहेका राईले भने, ‘सानै कक्षादेखि विद्यार्थीको जग बसाल्नेतर्फ पनि उत्तिकै ध्यान पु¥याउन जरुरी छ ।’

कतिपय व्यवस्थापन समितिका अध्यक्ष जिम्मेवारी लिएर सदरमुकाम बस्छन् । बिद्यालयको शैक्षिक गतिबिधिका बिषयमा लेखाजोखा कम गर्छन् । पार्टीकै गतिबिधिमा दैनिक समय बित्नेभएकाले बिद्यालयको शैक्षिक सुधारमा उनीहरुको ध्यान स्वभाबिकैले कम पुग्छ । विद्यालयलाई आवश्यक समय दिन भ्याउँदैनन् । त्यही भएर सकेसम्म नेता हुनेहरुले बिद्यालयको नेतृत्व लिनुभन्दा बाहिर बसेर सहयोग गर्न उचित ठान्छन् जिल्ला शिक्षा अधिकारी गणेश भट्टराई । अन्य व्यवस्थापन समितिका पदाधिकारीले ‘नेताहरुकै बिद्यालयले त निल खायो हाम्रोले निल खाँदा के फरक प¥यो र’ भन्ने गरेको भट्टराईले जनाए । ‘नेताको स्कुलले राम्रो नतिजा ल्याएको खबर सुन्न पाएको भए राम्रै हुन्थ्यो,’ जिशिअ भट्टराईले भने, ‘तर नेताहरु संलग्न अधिकांश विद्यालयको नतिजा ठीक उल्टो आएको छ ।’

एसएलसीमा निल खाने बिद्यालय बढेपनि जिल्लाको उत्तिर्ण दर भने बढेको पाइएको छ । गत वर्ष १२.५ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएको जिल्लाका यसपल्ट १५.९७ प्रतिशत परिक्षार्थीले एसएलसि उत्तिर्ण गरेको प्राबिधिक सहायक तिर्थ बिश्वकर्माले बताए । रेगुलरतर्फ ३ हजार ७५७ र एक्जाम्टेडतर्फ ३ हजार ५१ गरी जिल्लाका ६ हजार ८०८ विद्यार्थी परिक्षामा सामेल भएका थिए । कार्यालयका अनुशार रेगुलरतर्फ ३ हजार ७५७ मध्ये ६ सय परिक्षार्थी उत्तिर्ण भएका छन् । परिक्षामा १४ जनाले बिशिष्ट, १४० जनाले प्रथम, ३७९ जनाले दोश्रो र ६७ जनाले तेश्रो श्रेणीमा उत्तिर्ण गरेका छन् । सामुदायीकतर्फ पञ्च माबि दिक्तेलका एक जना, निजितर्फ दिक्तेल बोर्डिङ स्कुलका १२ जना र माउण्टएभरेष्ट बोर्डिङ स्कुलका एक जनाले बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको बिश्वकर्माले जनाए ।

सिद्धेश्वरी मावि खिदीमाले लगातार तेश्रोपटक तथा बालकन्य माबि फाक्टाङ र जालपा माबि नुनथलाले लगातार दोश्रोपल्ट शुन्य नतिजा ल्याएको कार्यालयले जनाएको छ ।