टेनिस रोका

काठमाडौं १२ असार । यस वर्षको एसएलसी परीक्षाको नतिजामा खोटाङ जिल्लाको देशकै खराब नतिजा आएपछि शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सभाषद विशाल भट्टराईले बहस थालेका छन् ।
एसएलसी नजितामा खोटाङ जिल्लाका १४ वटा विद्यालय निल भएका छन् भने खराब नतिजामा जिल्लागत ७५ औं स्थानमा पुगेको छ । शैक्षिक क्षेत्रमा देशकै खराब  नतिजा आएपछि सभाषद भट्टराईले खोटाङको शैक्षिक गुणस्तर सुधार्न के गर्ने भन्ने विषयमा शिक्षाविद्, बुद्धिजिवि, सरोकारवाला व्यक्तिहरुसँग छलफल थालेका हुन् ।
सभाषद भट्टराईले शनिबार पहिलो चरणमा राजधानीमा एक अन्तरक्रियाको कार्यक्रम गरेर सुझाव लिएका छन् । ३० जना भन्दा बढी सरोकारवालाहरु उपस्थित कार्यक्रममा सहभागीहरुले शिक्षा क्षेत्रका समस्या र समाधानका उपायबारे सुझाव दिएका छन् ।
शिक्षाविद् डा. विष्णु राईले दरबन्दी अनुसार शिक्षक अभाव, शिक्षामा राजनीति हाबी हुनु लगायतले शैक्षिकस्तर खस्किएको बताए । कार्यक्रममा उनले  विद्यालयमा राजनीतिका कारण स्वतन्त्र रुपामा पढाई नहुने गरेको बताए । 

डा. धन प्रसाद सुवेदीले विद्यार्थीलाई पढ्न पर्छ भन्ने भावना जगाउन नसकेको भन्दै शिक्षकको मात्रै पनि दोष नरहेको बताए । 
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नियमित रुपमा पठनपाठन हुन नसकेको, समयमा पाठ्यपुस्तक नपुग्ने गरेको, शिक्षक, विद्यार्थी तथा अभिभावकले पनि आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा खोटांग देशकै खराब नतिजा ल्याउनेमा परेको बताएका छन् ।

उनीहरुले शिक्षकले राम्रोसँग पढाउन नसक्दा नतिजा बिग्रिएको भन्दै शिक्षकको कडा आलोचना गरेका छन् । विद्यार्थीलाई सिकाउनेपढाउने, अह्राउने, उत्प्रेरणा जगाउनेदेखि अभिभावकसम्मलाई सम्झाउने बुझाउने सबै काम शिक्षकको हातमा हुने हुँदा त्यो जिम्मेवारी भन्दा पनि शिक्षालाई जागिर पकाउने मात्रै ध्येय राखेकाले नतिजा बिग्रिएको उनीहरुको भनाई छ । केही वक्ताले भने अभिभावकको पनि उत्तिनै हात रहने बताएका छन् ।

कार्यक्रममा शिक्षाविद् भोलाहरि धिताल, अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष भिम राईसहित मणिकलाल प्रधान, कल्याण रोका, हरि कुमार पोखरेल, भागवत आचार्य, टंक भट्टराई, चिरञ्जिवि खड्का, दिपराज राई, आनन्दकला राई, राजकुमार राई, गोपीकृष्ण खड्का बम खत्री लगायतले विचार व्यक्त गरेका थिए ।

सभाषद भट्टराईले दरबन्दी अभाव रहेको तथा विषयगत शिक्षकको पनि कमी रहेको र अब यसलाई सुधार गर्न आवश्यक रहेको भन्दै आफूले सक्ने पहल गर्नकै लागि छलफल सुरु गरेको जनाए । उनले विद्यालय समिति गठनमा राजनीतिक हस्तक्षेप हुँदा पनि जिल्लाको खराब नतिजा आएको भन्दै यसलाई पनि सुधार गर्ने समेत उल्लेख गरे ।
खोटांग जिल्लामा यस वर्ष नियमित र आंशिक गरी ६ हजार ८ सय ८ परीक्षार्थीले परीक्षा दिएकोमा १५. ९७ प्रतिशत उत्तिर्ण भएका छन् । खोटांग जिल्ला खराब नतिजाको आधारमा देशकै अन्तिम जिल्लामा पर्न पुगेको छ ।  जिल्लामा रहेका ९१ माविमध्ये १४ विद्यालय निल छन् भने १ जना मात्रै उत्तिर्ण हुने माविको संख्या १६  छ । १० वटा माविमा भने ३ जनाले उत्तिर्ण गरेका छन् ।