
असार १३ । पिपलको रुख ढलेर सडकमा थुप्रिएपछि खोटाङको हलेसी–जयराम सडक खण्ड अवरुद्ध भएको छ । दिक्तेल–जयरामघाट सडक खण्ड अन्तरगत च्यास्मिटारको वनपालामा सडक छेउको ठूलो पिपलको बोट ढलेर छेकेपछि सडक अवरुद्ध भएको हो ।
पिपलको रुख सडकमा थुप्रिएपछि सदरमुकाम दिक्तेल, हलेसी, अर्खौले भित्रिने र जिल्लाबाट बाहिरिने यात्रु अलपत्र परेका छन् । अहिले यात्रु, स्थानीय र प्रहरीले पिपलको रुख पन्छाएर सडक सुचारु गराउने प्रयास गरिरहेको स्थानीय रसकुमार राईले जानकारी दिनुभयो ।
गएराती दुई बजेतिर ढलेको पिपलको रुख ठूलो भएकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । रुखले सडक स्तरोन्नतीकाक्रममा प्रयोग गरेर पिपलको बोटमुनि राखिएको रौता कन्ट्रक्सनको स्काभेटर (जेसिभि) समेत किचेको छ ।