असार १४ । जिल्लामा अर्काको परीक्षा दिने र दिन लाउने विरुद्ध सार्वजनिक मुद्दा चलाइएको छ । अर्काको परीक्षा दिदै गरेका दिक्तेल नगरपालिका–२ का दिपक खत्री र आफ्नो परीक्षा दिन लागउने फेदी–५ का प्रकाश राई विरुद्ध सार्वजनिक मुद्दा चलाइएको हो । 
शनिबार भएको कक्षा ११ को ऐच्छिक अँग्रेजी विषयको परीक्षामा दिपकले साथीको परीक्षा दिइरहेको थाहा पाएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई आईतबार सार्वजनिक मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बिनोदराज खरेलले बताउनुभयो । 
प्रकाशले दिपकलाई आफू अँगे्रजीमा कमजोर भएकाले परीक्षा दिन लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । खरेलका अनुसार प्रकाशकोे प्रवेशकार्डमा  दिपकले आफ्नो फोटो टाँसेर परीक्षामा सहभागी भएका थिए ।
पक्राउ परेका दुवैलाई १५ दिनको म्याद थप गरेर कारबाही थालिएको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । गौतमका अनुसार उनको शनिबारको परीक्षा समेत रद्द गरिएको छ ।  
दिपकलाई परीक्षा हलबाट र प्रकाशलाई उनको कोठाबाट नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । पक्राउ परेका दुवै परीक्षार्थी दिक्तेल बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।