
असार १४ । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा समेत खोटाङमा पर्याप्त मात्रामा पाठ्यापुस्तक आइपुगेको छैन । बैशाखको सुरुमै आइपुग्नुपर्ने पुस्तक जनक शिक्षा सामाग्री केन्द्रको ढिलासुस्तीका कारण हालसम्म आइपुग्न नसकेको हो ।
जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा अझै २८ हजार थान पाठ्यपुस्तक नपठाएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार जिल्लामा कक्षा–९ र १० को अतिरिक्त गणित, शिक्षा, अर्थशास्त्र तथा कक्षा–६, ७ र ८ को पाठ्यपुस्तकको पूर्णसेट विद्यार्थीले पाउन नसकेका छैनन् ।
जिल्लाका जम्मा ६५ हजार विद्यार्थीका लागि ८५ हजार थान पुस्तक चाहिन्छ । त्यसमध्ये कक्षा–६ देखि १० का लागि चाहिने ८५ हजार थान अर्थात १३ हजार बढि विद्यार्थीलाई पुग्ने पुस्तक जनक शिक्षा सामग्री केन्द्रले ल्याउने जिम्मा लिएको थियो ।
जनक शिक्षाले ५० हजार थान मात्र पुस्तक आपूर्ति गरेको छ । जसका कारण १५ हजार विद्यार्थीले सिंगो सेटमा पुस्तक पाउन नसकेको जनाइएको छ ।
जनक शिक्षा सामाग्री केन्द्रले प्रयाप्त पाठ्यपुस्तक नपठाएपछि विद्यार्थीहरुले आधा–आधा मात्र पुस्तक पाएका छन् । उनीहरु पुस्तक विना नै विद्यालय जाने गरेको अभिभावकहरुले जनाएका छन् ।
जनक शिक्षाले नल्याएपछि कक्षा–६ र ७ को पुस्तक भने उदयपुरबाट ल्याएर पूर्ति गरिएको छ । भट्टराईका अनुसार उदयपुरबाट पूर्ति गरिएपनि अझै जिल्लामा १५ हजार पुस्तकको अभाव छ ।
कार्यालयका अनुसार यसपल्ट कोर्स फेरिएको कक्षा–८ को कुनैपनि पुस्तक ल्याइएको छैन । जिल्लामा १ देखि ५ कक्षाका लागि प्राईभेट तथा ६ देखि १० कक्षाका लागि आवश्यक पुस्तक जनक शिक्षाले ल्याउने जिम्मा लिएको थियो ।
कक्षा–१ देखि ५ सम्मका विद्यार्थीले भने पुस्तक पाइसकेका छन् । पुस्तकको अभावमा जिल्लाका कतिपय विद्यालयका शिक्षकहरुले एउटै पुस्तकको भरमा पठनपाठन गराइरहेका छन् ।
समयमा पुस्तक नपाएकै परिणाम जिल्लाले एसएलसीमा मुलुकमै कमजोर नतिजा ल्याएको अभिभावक बताउँछन् । तत्काल आवश्यक पुस्तक उपलब्ध गराउन पटक–पटक अनुरोध गरेपनि जनक शिक्षा केन्द्रले छपाइमा ढिलाइ भएकाले पुस्तक वितरणमा पनि ढिलाई भएको प्रतिकृया दिदैं आएको शिक्षाले जनाएको छ ।
केन्द्रले अझै दशैंअघि पुस्तक ल्याउन नसकिने जवाफ दिने गरेको जिशिअ भट्टाराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कहिले छपाइमा ढिला भएको छ भन्छ, कहिले दूधकोसीको बेलिब्रिज निकालिएकाले ल्याउन सकिएन भन्छ, कहिले भूकम्प कारण देखाउँछ, बेलामा विद्यार्थीको हातमा पुस्तक नपुगेपछि कसरी सुध्रिन्छ शिक्षा क्षेत्र ?”
केही समयअघि किराँत पुस्तक पसल हलेसी, न्यू–शाक्य पुस्तक सेन्टर दिक्तेल, घिमिरे बुक्स एण्ड स्टेशनरी सिम्पानी, पूर्वाञ्चल बुक्स एण्ड स्टेशनरी दिक्तेल, सालपा बुक्स एण्ड स्टेस्नरी नुनथला, सैंजु पुस्तक पसल दिक्तेल र न्यू एसेलुखर्क बुक्स एण्ड स्टेस्नरी ऐसेलुखर्कलाई केही पाठ्यपुस्तक उपलव्ध गराएर फर्किएको केन्द्रको डिपो अहिलेसम्म जिल्ला फर्किएको छैन । उसबेला आएको पुस्तक पाउनेमा अधिकांश सदरमुकाम र पुस्तक पशल आसपास नजिकका विद्यालयहरु छन् । सदरमुकामभन्दा टाढा–टाढाका विद्यालयका विद्यार्थीले अझै पुस्तक पाउन सकेकै छैनन् ।
शिक्षाका अनुसार उदयपुरसँग सिमाना जोडिएका दक्षिणी क्षेत्रका फाक्टाङ, सिम्पानी, लिच्कीराम्चे, साउनेचौर,बराहापोखरी लगायतका गाविसका विद्यालयमा भने उदयपुरबाटै पुस्तक ल्याएर उपलव्ध गराइएको छ । उत्तरी क्षेत्रका विद्यालयमा अझैपनि पुस्तक पुग्न सकेको छैन ।