खोटाङ, १८ असार । प्रमुख अतिथिको विषयमा कुरा नकिलेपछि शुक्रबार आयोजना गरिएको दिक्तेल नगरपालिका खुला दिसामुक्त घोषणा कार्यक्रम स्थगित गरिएको छ ।
एमालेले आफ्नो पार्टीबाट विजयी सभाषद्लाई प्रमुख अतिथिका रुपमा ल्याउन नपाएपछि घोषणा कार्यक्रम स्थगित गरिएको नगर विकास समितिका अध्यक्ष भोजकुमार बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वदलीय÷सर्वपक्षीय बैठकले कांग्रेसबाट समानुपातिक कोटामा सभाषद बन्नुभएकी सरस्वति बजिमयलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो, पछि आएर एमालेले आफ्नो पार्टीबाट प्रत्यक्ष निर्वाचित सभाषदलाई बनाउनुपर्छ भन्यो, त्यही विषयमा कुरा नमिलेपछि घोषणा कार्यक्रम स्थगित गरिएको हो ।”
अतिथि विवादमा नभइ सबै घरमा चर्पी नबनी घोषणा गर्ने तयारी गरिएकाले केही समय पछि सारेर सबै घरमा चर्पी बनाएपछि मात्र घोषणा गर्न आग्रह गरिएको एमाले अध्यक्ष बबि चाम्लिङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अतिथिका बारेमा कुनै बिरोध गरेका छैनौं, प्रक्रिया पूरा गरेर मात्र घोषणा गरौं भनेका हौं ।”
सबैको घरमा वाटरशिल चर्पी निर्माण भएको अनुगमन टोलीले दिएको जानकारीपछि बसेको बैठकको निर्णय अनुसार शुक्रबार खुला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वदलीय÷सर्वपक्षीय भेलामा असार १८ गते नगरपालिका घोषणा गर्ने निर्णय भएको थियो, सोही अनुसार हामीले तयारी गरेका थियौं तर, घोषणा गर्ने समयमा आएर सहमती जुट्न सकेन !”
सम्पूर्ण तयारी पूरा गरिएको कार्यक्रम एक जनाका कारण स्थगित गर्नु दुःखद घटना भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राई ‘जीवन’ले बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान बनाउन गएका सभाषद्हरु आफ्नो जिम्मेवारी बिर्सेर गाउँमा आएर प्रमुख अतिथि बन्ने होटबाजीले राम्रो सन्देश जाँदैन, यसले सिंगो जिल्ला खुला दिसामुक्त हुनमा बाधा पुगेको छ ।”
एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा नगरपालिका बाहेक सबै गाविस खुला दिसामुक्त भइसकेका छन् । शुक्रबार गर्ने भनिएको नगरपालिका घोषणाका लागि सबै जिम्मेवारी बाँडफाँड गरिएको खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको सचिवालय संयोजक धनप्रसाद गिरीले जानकारी दिनुभयो ।