शनिबारदेखि बाढीमा बेपत्ता आमा/छोरीको अवस्था अझै अज्ञात

खोटाङ, २२ असार । बाढीमा परी बेपत्ता बनेका खोटाङका आमा/छोरी अझै फेला परेका छैनन् । शनिबार राति मात्तिम र रतन्छा गाविसको बीचमा पर्ने तावा खोलामा आएको बाढीमा परी बेपत्ता बनेकी मात्तिम–५ की ४० वर्षीया परीमायाँ राई र उनकी छोरी १२ वर्षीया समिता राई हालसम्म फेला नपरेकी हुन् ।
उनीहरूलाई स्थानीय नीरकुमार राईको धान रोप्न खोला किनारमा गोठमा सुतेको अवस्थामा आएको बाढीले बगाएर बेपत्ता बनाएको थियो । उनीको खोजीका लागि नेपाल प्रहरी र स्थानीयवासी सक्रिय रहेको जिल्ला दैविप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।
उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार आमा–छोरीसँगै तीन वटा गोरु, दुई वटा गाई, दुई वटा मिल समेत बगाएको थियो । 
शनिबार रातभर आएको भिषण वर्षापछि आएको बाढीले किनार आसपासका खेत र पाक्न लागेको साउने धान समेत पुरेको कृषकहरुले बताएका छन् । रातभर परेको वर्षाका कारण खिदीमा गाविसका १५ घरपरिवार विस्थापित भएका छन् ।