
खोटाङ, असार २३ । श्रीमती हत्या आरोपमा पक्राउ परेका खोटाङका एक युवा कारागार चलान भएका छन् । गत जेठ १९ गते राति निर्घात कुटपिट गरि श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका कुभिन्डे–३ का २९ वर्षीय मनकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
श्रेष्ठले २२ वर्षीया श्रीमती सुष्मा भनिने लीला राई (श्रेष्ठ) लाई पायप र लाठीको प्रयोग गरि निर्घात कुटपिट गरेर हत्या गरेको स्थानीयले बताएका छन् । मृतक लीलाको माइती पक्षले दिएको जाहेरीको आधारमा पक्राउ परेका श्रेष्ठले श्रीमतीको हत्या आफैले गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले बताए ।
छोरा बिरामी भएको र शुष्मा छोराको उपचार गर्न स्थानीय स्वास्थ्य चौकीमा गएको र साँझसम्म पनि घरमा नफर्किएको भन्दै श्रेष्ठले बाटोमा नै कुटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि माइती पक्षले दिएको उजुरीको आधारमा श्रेष्ठलाई २३ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घर नजिकै मृत फेला परेकी लीलाको शरीरको विभिन्न ठाउँमा चोट लागेको थियो । प्रेम विवाह गरेका श्रेष्ठ दम्पत्तीको दुई छोरा छन् ।