खोटाङ, असार २३ । नेकपा माओवादी विप्लव समूहले जिल्लाका सरकारी कार्यालयहरुमा चन्दा उर्दी गरेको छ । दश वर्षे जनयुद्ध र उन्नाईस दिने जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नयाँ अभियान सञ्चालन गर्ने भन्दै माओवादीले चन्दा उर्दी गरेको हो । 
स्रोतले दिएको जानकारी अनुसार माओवादीले जिल्लाका सबै कार्यालयमा पत्र पठाएर चन्दा उर्दी गरेको जनाइएको छ । महासचिव विप्लवद्धारा हस्ताक्षरित पत्रमा रकम भने तोकिएको छैन । 
यद्यपि, फोनमा भने, पटक–पटक मोलतोल गर्ने गरेको कार्यालय प्रमुखहरुले जनाएका छन् । उनीहरु भन्छन्, “पत्र आउनासाथ पटक–पटक फोन आइरहेको छ, कार्यालयबाट चन्दा दिने प्रावधान छैन । त्यसले गर्दा हामीलाई काम गर्न अप्ठ्यारो भएको छ ।”
प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले सरकारी कार्यालयमा चन्दा माग्ने कसैलाई पनि चन्दा नदिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको बताए । उनले भने, “कार्यालयको तर्फबाट चन्दा दिनु गैंरकानुनी काम हो, त्यसैले सबै कार्यालय प्रमुखहरुलाई बोलाएर चन्दा नदिन निर्देशन दिएको छु ।”
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई स्थापित गर्न आन्दोलन गर्नुपर्ने भएकाले जिल्लास्थित केही सरकारी कार्यालय र गाविस सचिवसमक्ष सहयोग माग गरिएको माओवादी खोटाङका सचिव चन्द्रबहादुर बुढाथोकी ‘शैलेश’ले बताए । उनले भने, “हामीले जबरजस्ती गरेका छैनौं, स्वेच्छिक रुपमा सहयोग गर्न केही कार्यालय र गाविस सचिवलाई आग्रह गरेका हौं ।”
माओवादीले जिल्लाका अन्य संघसंस्था तथा सर्वसाधारणहरुलाई भने चन्दा मागेका छैनन् । महिनादिन अघि संगठन बिस्तार गरेको माओवादीले जिल्लामा भ्रष्टचार, घुसपेश, बलात्कार, कालोबजारी लगायतलाई न्युनिकरण गर्दै समृद्ध खोटाङ बनाउने बताएको थियो ।