खोटाङ, २४ असार । दाहाल बन्धुको सक्रियतामा खोटाङको धार्मिकस्थल साप्सुधापमा प्रतिक्षालय निर्माण गरिएको छ । दाहाल बन्धु प्रारम्भिक समिति निर्मलीडाँडाका सदस्यहरुबाट रकम संकलन गरेर ४४ फिट लम्बाई र २० फिट चौडाई भएको प्रतिक्षालय निर्माण गरेका हुन् ।
प्रतिक्षालय निर्माणका लागि स्थानीय कृष्ण दाहाल र खड्गबहादुर दाहालको अगुवाइमा निर्मलीडाँडा गाविसमा बसोवास गर्ने दाहाल परिवारबाट रकम संकलन गरिएको प्रारम्भिक समितिका अध्यक्ष शंकरमान दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतिक्षालय दुई लाख रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको हो ।
हरेक वर्ष जनैपूर्णिमाको दिन ठूलो मेला लाग्ने उक्त साप्सुधापमा दर्शन गर्न आउने दर्शनार्थीलाई मध्यनजर गर्दै प्रतिक्षालय निर्माण गरिएको समितिले जनाएको छ । उक्त साप्सुधापमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहीआएको छ । 
विशेषगरी धामीझाँक्रीको मेला लाग्ने उक्त साप्सुधापमा बाह्रै महिना पूजाआजा गर्ने भक्तजनको उपस्थिति रहने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साप्सुधाप सदरमुकाम दिक्तेलबाट एक दिनको पैदल यात्रापछि पुगिने निर्मलीडाँडा गाविसको वडा नं. ५ मा पर्दछ ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने साप्सुधापमा जिल्लाबाहेक भोजपुर, धनकुटा, संखुवासभा, उदयपुर, सोलुखुम्बु लगायत पूर्वाञ्चलका विभिन्न जिल्लाबाट दर्शन गर्ने भक्तजनहरु आउने गरेका छन् ।