खोटाङ ८ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खोटाङ जिल्ला कमिटी १ सय ३५ सदस्यीय बनाउने तयारी गरिएको छ । पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले पूर्व एमालेलाई ७८ जना र पूर्व माओवादीबाट ५७ जना सदस्यीय रहने गरी जिल्ला कमिटी बनाउने तयारी गरेका छन् ।
नेकपाले ४५ सदस्यीय सचिवाय गठनको तयारी समेत गरेको छ । जसमा पूर्व एमालेको भागमा २५ र पूर्व माओवादीलाई २० जना रहने गरी गठनको अन्तिम तयारी गरेका छन् ।
पूर्व दुई पार्टीले १० स्थानीय तहको पनि भागबण्डा अन्तिम तयारीमा पु¥याएका छन् । जसमा ६ एमाले र ४ वटामा पूर्व माओवादीको तर्फबाट नेतृत्व रहने गरी मिलाउने अन्तिम तयारी भएको एक नेताले जानकारी दिए ।
काठमाण्डौंस्थित एक होटलमा जारी छलफलबाट जिल्लाका ७९ वडा मध्ये ४५ एमाले र ३४ माओवादीको नेतृत्वमा हुने गरी मिलाउने तयारी समेत गरिएको वताईएको छ ।
जिल्लाको नेतृत्वको विषयमा भने छलफल जारी नै रहेको जनाईएको छ । अध्यक्षमा पूर्व माओवादी केन्द्रका नेता तथा सचिवमा पूर्व एमालेबाट सहमतिमा ल्याउने गरी छलफल जारी रहेको श्रोतले बताएको छ ।