साउन–६,  बैशाख–१२ गतेको महाभूकम्प तथा त्यसपछिका पराकम्पनहरुका कारण यसवर्ष हलेसी आउने दर्शनार्थीको संख्या घटेको छ । नेपालकै एक मात्र त्रीधार्मिकस्थल खोटाङको हलेसी आउने बाटाका सडकमा क्षति पुगेकाले यस वर्ष दर्शन गर्न आउने भक्तजनको संख्या घटेको हो । 
भूकम्पका कारण साउन महिनाभर लाग्ने बोलबम मेलामा समेत गत वर्षहरुको तुलनामा यस वर्ष थोरै मात्र भक्तजनको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न आउने भक्तजनको संख्या आधा घटेको छ, साउन महिनाको पहिलो सोमबार २०÷२५ जनाले मात्र दर्शन गरेका छन् ।”
गत वर्षहरुमा महिनादिनसम्म लाग्ने बोलबम मेला भर्न नेपाल लगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायतका हजारौं भक्तजन आउन गरेका थिए । हलेसी आउने मुख्य सडक सिन्धुपाल्चोक लगायतका सडकमा भूकम्पले क्षति पु¥याएकाले दर्शनार्थी घटेको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले जानकारी दिनुभयो । 
किरात, वौद्ध र हिन्दू धर्मालम्बीहरुको त्रिवेणीस्थल मानिने हलेसीमा सडक बिस्तार भएसँगै गत वर्षहरुमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको थियो । धार्मिक तथा साँस्कृतिकरुपले प्रसिद्ध मानिने त्रीधार्मिस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । 
महादेवगुफा, धर्मद्धार, पापद्धार, बसाहागुफा, भैरबगुफा, दुंदेलोगुफा लगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र भक्तजन हलेसी आउने गरेको छ । हलेसी आउने भक्तजनको संख्या घटेपछि त्यस क्षेत्रका व्यापार÷व्यवसाय समेत खच्केको व्यवसायीहरुको भनाइ छ । 
भूकम्पले हलेसी मन्दिर परिसरमा कुनै क्षति गरेको छैन । यद्यपि, मन्दिरनजिक रहेको पानीको मुहान भने सक्दै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।