साउन–१४, जिल्लामा भएको एक कार्यक्रमका सहभागीले योजना छनौट गर्दा स्थानीयस्तरबाट छनौट भएर आएका योजनालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । विगतका दिनहरुमा माथिल्लो तहबाट योजना छनौट गर्ने प्रबृत्तिका कारण लक्षित वर्गसम्म नपुग्दा प्रभावकारी नभएको भन्दै आगामी दिनमा वडास्तरबाट छनौट भएर आएका योजनालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।
आफूहरुले छनौट गरेर पठाएका योजनाहरु विगतका दिनहरुमा बाटैमा फालेर पहुँचवाला व्यक्तिले सिफारिस गरेको योजना पारित गरिएकाले आगामी दिनमा त्यस्तो प्रक्रिया हटाउनुपर्ने वडा नागरिक मञ्चका संयोजकहरुले बताएका छन् । दिक्तेल नगरपालिकाले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै वडा नागरिक मञ्चका संयोजक नानीराम कटवालले भन्नुभयो, “हामीले ठूलो कष्टका साथ वडा परिषद्बाट योजना छनौट गरेर ल्याएका हुन्छौं, नगरपालिकासम्म आइनपुग्दै बाटैमा गायब हुँदो रहेछ । यसरी छनौट गरिएको योजनाले विकास सम्भव छैन ।”
वडास्तरबाट छनौट भएका योजना पर्दैन भने वडा परिषद् गर्नुको कुनै अर्थ नहुने कार्यक्रममा सहभागी नेकपा–माओवादी खोटाङका सचिवालय सदस्य झमप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा नगरपालिकाको विकास गर्नुछ भने, गाउँतहबाट योजनाहरु छनौट भएर आउनुपर्छ । अन्यथा यस खाले प्रबृत्तिको हाम्रो पार्टीले बिरोध गर्नेछ ।”
निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन राईले आगामी दिनमा समन्वय र सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले भन्नुभयो, “विगतमा भएका कमीकमजोरीलाई आत्मसाथ गर्दै आगामी दिनमा सबै सच्चिएर जानुपर्छ, एकतर्फी गरिएको निर्णयले कसैलाई फाइदा गर्दैन ।”
यसबारे आगामी दिनमा आफू गम्भीर भएर लाग्ने दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “म आउनुभन्दा पहिले नै नगरपरिषद् भएकाले यस्तो भएको हो, आगामी दिनमा सबैको समन्वयमा कार्यक्रम गरिनेछ ।”