असार–१५, बाढीले पुल बगाएपछि खोटाङका दर्जन बढी गाविसका स्थानीयबासीलाई आवत–जावतमा समस्या भएको छ । गत असार–१९ गते राति परेको भारी वर्षापछि आएको बाढीले मेवा र साप्सु खोलामा हालिएको झोलुङ्गे तथा काठे पुल बगाएपछि आसपासका दर्जन बढी गाविसमा बसोबास गर्ने स्थानीयलाई आवत–जावतमा समस्या भएको हो । 
रातको समयमा आएको बाढीले रतन्छा–४ र दोर्पाचिउरीडाँडा–५ जोड्ने लामीदुवाली, मात्तिम र टेम्मा जोड्ने बर्मी, मात्तिम र छितापोखरी जोड्ने सिरुवा झोलुङ्गे पुल, खिदिमा–७ र छितापोखरी–९ तथा खिदिमा–३ र ८ जोड्ने स्टिलट्रसका साथै दर्जनौं ठाउँमा हालिएको काठे पुल बगाएपछि आवत–जावतमा समस्या भएको मात्तिमका भुवनकुमार आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले पुल बगाएपछि सबैभन्दा बढी विद्यार्थीलाई समस्या भएको छ, खोला तरेर जानुपर्ने विद्यालयका कतिपय विद्यार्थीलाई त विद्यालय पठाउन पनि छाडिएको छ ।”
बाढीले सबै प्रकारका पुल बगाएपछि यस क्षेत्रमा पर्ने दर्जन बढी गाविसका स्थानीयबासीलाई सदरमुकाम दिक्तेल लगायत अन्यत्र आवत–जावत गर्न समस्या भएको खिदिमाका हङ्सराज राईले बताउनुभयो । उहाँले भन्नुभयो, “खोलामा हालिएको पुल त बाढीले बगायो नै, बाढीका कारण खोलामा परेको भौडीले गर्दा झनै समस्या भएको छ ।”
बाढीले झोलुङ्गे तथा काठे पुल बगाउनुका साथै खोलाहरुमा ठूलो भौडी पारेकाले वारपार गर्न सक्ने अवस्था नहरेको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा एक÷डेढ घण्टा घुमेर भौडी पार गर्नुपर्ने अवस्था रहेको रतन्छाका नविन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “माथिबाट ढुङ्गा झरिरहेको हुन्छ, एक÷डेढ घण्टा घुमेर पार गर्नुपर्ने ठाउँमा एकदमै जोखिम मोल्नुपर्ने अवस्था छ ।”
सोही रात मेवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका मात्तिम–५ की ४० वर्षीया परिमायाँ राई र उहाँकी छोरी १२ वर्षीया समिता राई अहिलेसम्म फेला परेको छैन । खोलाको किनारमा रहेको नाम्खा दोभानस्थित खेतमा रोपाई गर्न अस्थायी कटेरामा बसेका आमाछोरीलाई खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको हो । 
बाढीले त्यस क्षेत्रमा बसोबास गर्ने दर्जनौं परिवार विस्थापित भएका छन् भने, खेतीयोग्य जमिन, पाक्न लागेका धान, चारवटा लघु जलविद्युत, दर्जनौँ गाईगोरु र तीन दर्जन बढी बाख्राखसी बगाएको छ । बाढीले ठूलो मात्रामा क्षति पु¥याए पनि विस्थापित परिवार बाहेक आफूहरुले राहत नपाएको स्थानीयले गुनासो गरेका छन् ।