साउन–२२, भूकम्पले मुहान सुकेपछि खोटाङको हलेसीमा खानेपानीको हाहाकार भएको छ । बैशाख १२ गतेको भूकम्पका कारण हलेसीको बसाहाथानदेखि उत्तरपट्टी रहेको मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो ।
भूकम्प गएलगत्तै केहीदिनपछि बिस्तारै धारामा आउने पानी सुक्दै गएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । “त्यही स्थानमा उम्रिएको पानी झर्ने पाँच वटा धारामा भूकम्प गएको केहीदिनसम्म अटीनअटी पानी आयो ।” राईले भन्नुभयो, “भूकम्पले मुलै फुटेको त्यस स्थानमा बिस्तारै पानी सुक्दै गएर अहिले त धाराबाट थोप्पै झर्न छाडेको छ ।” 
पानीको मुहान सुकेपछि हलेसी क्षेत्रमा बसोवास गर्ने तीन सय घर परिवार डेढ घण्टा टाढाबाट खोलाको पानी ल्याएर पिउन बाध्य भएको गाविस सचिव गणेश कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीले त गाग्रोमा बोकेर ल्याएको पानी भएपनि उपभोग गर्छन् तर, दर्शन गर्न आउने दर्शनार्थीलाई ठूलो समस्या भएको छ ।”
हलेसी जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा पर्छ । यसका लागि विभिन्न निकायमा पहल गरिएपनि हालसम्म कुनै उपलब्धी हुन नसकेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । “नेपालकै एक मात्र त्रीधार्मिकस्थल हलेसीमा पहिलादेखि नै खानेपानीको समस्या थियो ।” राईले भन्नुभयो, “अहिले त भएको मुहान समेत सुकेपछि ठूलो समस्या भएको छ, यसप्रति राज्यको आँखा पुग्न जरुरी छ ।”
हलेसीमा पानीको मुहान सुकेको जानकारी आएपछि अध्ययनका प्राविधिक टोली खटाएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा परेको समस्या समाधान गर्न कार्यालयबाट सम्भव छैन, प्राविधि टोलीको रिपोर्टको आधारमा विभाग समक्ष माग गरिनेछ ।”
किरात, हिन्दु र वुद्ध धर्मको संगलस्थल मानिने हलेसीमा अहिले बोलबम मेला लागी रहेको छ । धार्मिक तथा साँस्कृतिक रुपले प्रसिद्ध मानिने त्रीधार्मिस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।