साउन–२७, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले जिल्ला हुलाक कार्यालय खोटाङमा ताला लगाउने कांग्रेस कार्यकर्तामाथि कारबाहीको माग गरेका छन् । अतिरिक्त हुलाक कार्यालय बड्कादियालेमा बहिदार र पत्र–वितरक नियुक्तीको बिषयलाई लिएर हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालय बड्कादियालेमा ताला लगाउने कांग्रेस कार्यकर्तामाथि दुई कर्मचारी संगठनले कारबाहीको माग गरेका हुन् । दुई कर्मचारी संगठनको मंगलबार बसेको संयुक्त बैठकले हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयमा ताला लगाउने कांग्रेस कार्यकर्तामाथि कारबाही हुनुपर्ने माग गरेको छन् ।
प्रकृया मिचेर कर्मचारी नियुक्त गरिएको भन्दै सोमबार कांग्रेस क्षेत्रीय सभापति तिर्थराज भट्टराई नेतृत्वको टोलीले हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयमा ताला लगाएका थिए । मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै दुबै कर्मचारी संगठनले ताला लगाउने समुहलाई कानून अनुशार कारबाही गर्नुपर्ने, घटनाको बिषयमा सत्थतथ्य छानबीन गर्नुपर्ने र कार्यस्थलमा कर्मचारीको सुरक्षा व्यवस्थाको माग गरेका छन् । गैर–कानुनीरुपमा तालाबन्दी गर्ने कार्यलाई निरत्साहित गर्न र कर्मचारीलाई सुरक्षितरुपमा जनताको सेवा प्रबाह गर्ने बातारण बनाउन प्रशासन समक्ष आग्रह गरिएको संगठनले जनाएको छ ।
अतिरिक्त हुलाक कार्यालयको रिक्त बहिदार पदमा नियम बिपरित बिदुर गेलाल र पत्र–बितरकमा प्रदीप आचार्यलाई नियुक्त गरिएकाले तालाबन्दी गर्नुपरेको कांग्रेस क्षेत्र नम्बर–२ का सभापति भट्टराईले बताए । हुलाक बिभागको स्वीकृति, गाबिसको सिफारिस तथा सर्वदलीय बैठकको सहमती नलिइ अनाधिकृतढंगबाट बहिदार र पत्रबितरक नियुक्त गरेको भट्टराईले जनाए । हुलाक कार्यालयमा ताला लगाउनेक्रममा पक्राउ परेका कांग्रेसका ११ कार्यकर्ता तीन घण्टापछि छुटेका थिए ।