साउन–३१, जिल्लाको उत्तरी गाविस फेदीमा कागज उद्योग खुलेपछि स्थानीय सात जना युवाले गाउँमै रोजगारी पाएका छन् । फेदीका स्थानीयले व्यवसायिक रूपमा उद्योग दर्ता गरेर नेपाली हाते कागज उद्योग सञ्चालन गरेपछि स्थानीय सात जना युवाले गाउँमै रोजगारी पाएका हुन् ।  
उद्योगमा अहिले दैनिक तीन/चार कोरी (प्रतिकोरी दुई सय ताउ) कागज उत्पादन हुने गरेको कागज उद्यमी धनकुमार राईले बताउनुभयो । “उद्योगमा काम गर्ने कर्मचारीलाई प्रतिकोरी ६०० रूपैयाँका दरले ज्याला दिने गरिएको छ ।” राईले भन्नुभयो, “यसले गर्दा रोजगारीको सिलसिलामा विदेश जाने तयारीमा लागेका युवाहरुसमेत यही उद्योगमा काम गर्न थालेका छन् ।” 
जिल्लामा उत्पादित कागजले राम्रो बजार पाउन थालेपछि आगामी दिनमा वार्षिक दुई हजार कोरी कागज उत्पादन गर्ने लक्ष राखिएको राईले बताउनुभयो । प्रतिकोरी दुई हजार ५०० देखि तीन हजार रूपैयाँसम्ममा बिक्री हुने नेपाली हाते कागज खोटाङ बाहेक छिमेकी जिल्ला उदयपुर, भोजपुर, सोलुखुम्बू, ओखलढुङ्गा लगायत काठमाडौं हुँदै विदेशमासमेत निकासी हुने गरेको छ । 
उद्योगमा फेदीका बैशाखे, थामखर्क, चिलिम लाहरे, बगाले, छेउलाहाने, फुङ्गालुङ, बैशाखे, मैयु लगायतका आठ वटा सामुदायिक वन उपभोक्ता समूहले शेयर लगानी गरेका छन् । उद्योगमा आठ वन समूहले ७१ हजार रूपैयाँका दरले शेयर लगानी गरेका छन् । 
यता, जिल्ला विकास समितिको १८ औं जिल्ला परिषद्ले स्थानीय उद्योगलाई प्राथमिकतामा राखेर प्रबद्र्धन गर्ने योजना पारित गरेपछि उद्यमीलाई हौसला मिलेको छ । सरकारले विदेशबाट आयातित सामाग्रीभन्दा स्थानीयस्तरमा उत्पादन हुने सामाग्रीलाई पहिलो प्राथमिकता दिने भएकाले उद्योगलाई व्यवसायिक रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताउनुभयो । “उद्योगले जिल्लाको आर्थिक विकासमा ठूलो टेवा पु¥याएको छ ।” सापकोटाले भन्नुभयो, “यसलाई प्रभावकारी बनाउन आगामी दिनमा उद्यमीलाई सहयोग गरिने छ ।”