
साउन–३२, खोटाङको दिक्तेल नगरपालिका–७ मा सञ्चालित बाम्राङ उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नती गरिएको छ । सरकारको निति अनुशार बाम्राङ उपस्वास्थ्यचौकीलाई बिहिबार स्वास्थ्यचौकीमा स्तरोन्नती भएको घोषणा गरिएको हो । प्रमुख अतिथिकारुपमा जिल्ला अस्पतालका डा. पुजन वल्लले बिहिबार उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकी घोषणा गरेका हुन् ।
स्वास्थ्यचौकी घोषणासँगै सामान्य उपचार, ड्रेसिङ, प्रेषण लगायतका सेवाका साथमा २९ प्रकारका औषधि निशुल्क उपलव्ध गराइने अहेव पर्शुराम आचार्यले बताउनुभयो । स्तरोन्नतीसँगै स्वास्थ्यचौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अहेब, दुई अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दीको व्यवस्था हुने जनाइएको छ । स्वास्थ्यचौकीकालागि भवन निर्माण गर्न आवश्यक जग्गा जुटाउने काम सुरु गरिएको स्थानीय स्वास्थ्य सहयोग व्यवस्थापन समितिका अध्यक्ष दिल चामलीङले बताउनु भयो ।
बाम्राङ उपस्वास्थ्यचौकी स्तरोन्नती घोषणा कार्यक्रममा बिशेष अतिथिकारुपमा राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष ललितकुमार राई, जिबिसका शाखा अधिकृत रबिकिरण आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, प्राध्यपक शरण खत्री, बडा नागरिक मञ्चका संयोजक नानीराम कट्वाल लगायतले शुभकामना दिए ।
एक अस्पताल, दुई प्राथमिक स्वास्थ्यकेन्द्र, २४ स्वास्थ्यचौकी सहित ७६ स्वास्थ्यसंस्था रहेको जिल्लाका ४७ उपस्वास्थ्य चौकीलाई एकैसाथ स्तरोन्नती गरिएको हो । गत साउनबाट लागू हुनेगरी ४७ उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नती गरिएको हो । सप्तेश्वरछितापोखरी र दिप्लुङ उपस्वास्थ्यचौकी भने स्तरोन्नतीबाट पछि परेको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. माधव लम्सालले बताउनुभयो ।