भदौ–९, जिल्ला प्रहरी कार्यालय खोटाङले इमेलबाट पत्रकारलाई सुचना उपलव्ध गराउन सुरु गरेको छ । यसअघि समाचार लेख्नुअघि सुचनाकालागि प्रहरीलाई फोन गर्दैआएका पत्रकारलाई पहिलोपल्ट बुधबारदेखि जिल्ला प्रहरी कार्यालयले इमेलबाट सुचना दिने व्यवस्था मिलाएको हो । 
सञ्चार माध्यमलाई दिन मिल्ने प्रकृतिका घटना प्रधान सुचना तथा जानकारी दिनकालागि प्रहरी कार्यालयले जिल्लामा क्रियासिल पत्रकारहरुको इमेल संकलन गरेको छ । ८ दिनअघि प्रहरी नायब उपरिक्षकको भूमीका सम्हाल्न खोटाङ आउनुभएका डिएसपी बिद्यानन्द माझीले पत्रकारसँगको परिचयात्मक कार्यक्रमपछि हरेक दिनको घटना प्रधान सुचना इमेलबाट पत्रकारलाई उपलव्ध गराउने व्यवस्था मिलाउनु भएको हो । 
परिचयात्मक कार्यक्रममा डिएसपी माझीले शान्ति सुरक्षा कायम गर्नेक्रममा कसैसँग ‘कम्प्रोमाइज’ नगर्ने बताउनुभएको छ । उहाँले बलात्कार, गुण्डागर्दी, चन्दा असुली लगायतका घटनामा छलफल नै नहुने उल्लेख गर्नुभयो । डिएसपी माझीले राजनैतिक दवावका आधारमा कारबाही प्रकृया अघि नबढ्ने बताउनुभयो ।