भदौ–१२, आम्दानीको स्रोत नभएपछि खोटाङका एक विद्यालयले व्यवसायिक तरकारी खेती सुरु गरेको छ । नेर्पा–८ स्थित जनता निमावि सञ्चालनका लागि आम्दानीको कुनै स्रोत नभएपछि व्यवसायिक तरकारी खेती सुरु गरिएको हो । 
आर्थिक अभावमा विद्यालय सञ्चालन गर्न कठिन भएपछि तरकारी खेती सुरु गरिएको प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो । “तरकारी खेतीबाट अहिले राम्रो आम्दानी हुन थालेको छ ।” आचार्यले भन्नुभयो, “विद्यालय आफैले व्यवसायिक तरकारी खेती सुरु गरेपछि विद्यार्थीसमेत यसप्रति आकर्षित भएका छन् ।”
विद्यालयको दुई र भाडामा लिइएको दुई गरी चार रोपनी जग्गामा विभिन्न प्रकारका तरकारी खेती लगाइएको प्रधानाध्यापक आचार्यले बताउनुभयो । व्यवसायिक रुपमा सुरु गरिएको तरकारी खेतीमा शिक्षक, अभिभावक र विद्यार्थीले हरेक शुक्रबार एक बजेदेखि काम गर्ने गरेका छन् ।
दुई वर्षअघि देउसी खेलेर संकलन गरिएको ४३ हजार रुपौयाँ रकमबाट तरकारी खेती सुरु गरिएको विद्यालयले जनाएको छ । व्यवसायिक रुपमा सुरु गरिएको तरकारीलाई आवश्यक पर्ने विषादी विद्यालय आफैले तयार गर्ने गरेको छ ।
विद्यालयले उत्पादन गरेको तरकारी स्थानीय हाटबजारमा बिक्री हुने गरेको छ । निजी स्रोतबाट सञ्चालन गरिएको विद्यालयमा सोही आम्दानीबाट शिक्षकहरुलाई तलब भुक्तानी दिन थालिएको प्रधानाध्यापक आचार्यको भनाइ छ । 
वि.सं. २०४९ साल फागुन–४ गते स्थापना गरिएको विद्यालयमा कक्षा १ देखी ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको छ । कक्षा–८ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले १८१ जना विद्यार्थी अध्ययनरत छन् ।