भदौ–१७, किरात प्रदेश स्थापनाको माग गर्दै संघीय समाजवादी फोरम नेपालले गरेको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । संघीय समाजवादी फोरम किरात प्रदेश समितिले गरेको बन्दले बिहीबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित भएको हो ।

बन्दका कारण जिल्लामा सञ्चालित यातायातका सवारी साधन, शैक्षिक संस्था, बजारपसल तथा होटलहरु खुलेका छैनन् । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु सिंगै तथा उदयपुरको माथिल्लो क्षेत्र, धनकुटाको अरुण वारी, संखुवासभाको १६ गाविस, सामेछाप, सिन्धुली र सुनसरीको किरात समुदायको बसोबास रहेका गाविसलाई किरात स्वयत्त प्रदेश स्थापना गर्न बन्द गरिएको फोरमले जनाएको छ ।

सदरमुकाम दिक्तेलको चौक तथा बजार क्षेत्रमा झण्डा सहितका बन्दकर्ताहरु समुह बनाएर डुलीरहेका छन् भने, अप्रिय घटना हुन नदिन ठाउँ–ठाउँमा सुरक्षाकर्मीको टोली खटाइएको छ । बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना भने भएको छैन ।

संघीय समाजवादी फोरमले गरेको बन्दको मारमा सबैभन्दा बढि यात्रु र विद्यार्थी परेका छन् । जिल्लामा सञ्चालित यातायातका सवारी साधन नचलेपछि यात्रुहरु पैदल यात्रा गरेर गन्तव्यतर्फ लागेका छन् ।

ऐतिहासिक ग्रन्थ, सामाग्री, लेखोट तथा दस्ताबेज लगायतका आधारमा यस क्षेत्रलाई किरात प्रदेश नामाकरण गर्नुपर्ने पार्टीका केन्द्रीय सदस्य सनबहादुर राईले बताउनुभयो । “आफ्नो माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।” राईले भन्नुभयो, “यदि सरकारले हस्तक्षेप गरेमा हार्मीहरु जस्तोसुकै मुल्य चुकाउन पनि पछि पर्दैनौं ।”