भदौ–१८, खोटाङको पहिरो प्रभाबित क्षेत्र सिमपानीमा राहत सहितको संयुक्त सुरक्षाकर्मी पुगेको छ । भीषण वर्षापछि बुधबार राती गएको पहिरोका कारण बिस्थापित बनेका सिमपानी र ईन्द्रेणीपोखरीका स्थानीयको उद्धारकालागि शुक्रबार राहत सहितको नेपाली सेना, श–सस्त्र र नेपाल प्रहरीको टोली पुगेको हो ।

पहिरोले बिस्थापित बनेका स्थानीयको उद्धारकालागि दिक्तेलबाट शेर गणका ४० जना नेपाली सेना, श–सस्त्र प्रहरी बेस क्याम्प चिसापानीबाट १३ जना श–सस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट ११ जना नेपाल प्रहरीको टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।

भारी वर्षाका कारण जताजतै गएको पहिरोका कारण सिमपानीमा ५२ र ईन्द्रेणीपोखरीमा एक घर बिस्थापित छन् । प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुशार ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट गएका प्रहरीको साथमा २० वटा पाल र ५० हजार नगद तथा सेनाकोसाथमा ४० वटा पाल पठाइएको छ ।

पहिरोले सिमपानी–८ अदुवाबारीका २५ घर, सिमपानी–८ तारेभीरका १५ घर, सिमपानी–७ कात्तिकेका ७ घर, सिमपानी–८ ओखरबोटेका ५ घर बिस्थापित भएको ईलाका प्रहरी कार्यालय सिमपानीका प्रहरी सहायक निरिक्षक रबि लिम्बूले बताउनुभयो । पहिरोले छिमेकी गाबिस इन्द्रेणीपोखरी–७ मा एक घर बिस्थापित भएका छन् ।