
नाट्या समुहले बिहिबार ब्लोसम होटलमा पत्रकार सम्मेलन गरी भदौ–२६ र २७ गते सदरमुकाम दिक्तेलस्थित जिबिसको हलमा महिला हिंसा सम्बन्धी नाटक मञ्चन गर्ने जानकारी दिएको छ । गत जेठ दोश्रो हप्ता मेम्बर राईको नाटकलाई रंगमञ्चमा उतारेको नाट्या समुहले दोश्रोपल्ट पनि उनकै नाटकलाई स्टेजमा उतार्न लागेको हो ।
शुल्क लिएर हेर्ने व्यवस्था मिलाइएको नाटकमा बहुबिवाह, कुटपिट लगायतका घरेलुहिंसालाई चित्रण गरिएको भ¥याङ नाट्या समुहका कोषाध्यक्ष योगीन राईले जानकारी दिनुभयो । नाटक मञ्चनलाई सफल बनाउन बुधबार जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको नाट्या समुहले एक सयदेखि पाँच सयसम्मका टिकट बिक्री गरिरहेको छ । नाटक मञ्चनसँगै किरात राई साँस्कृतिक कलाकेन्द्रको नृत्य, स्थानीय गायक÷गायीकाको सांगीतिक प्रस्तुती एबं हाँस्याव्यांग्य प्रहसन प्रस्तुत गरिने कोषाध्यक्ष राईले जानकारी दिनुभयो ।
नाटकमा दर्शकले सञ्जीव राई, प्रकाश रिजाल, राजेन्द्र ढुंगाना, योगीन राई, अंकिता राई, यशोधा राई, ममता राई, शुसिला राई, मेलिना राई, जमूना राई, मनीकुमार राई लगायतको कला देख्न पाइनेछन् । नाट्य समुहका कलाकारहरु व्यवसायीक होइनन् तर उनीहरुको कला व्यवसायीक कलाकारकोभन्दा फरक नभएको टिप्पणी गर्नेगरिएको छ । जिल्लामा नाटकलाई स्टेजमा उतार्ने र दर्शकलाई मनोरञ्जन दिने औपचारिक प्रयास शुन्य थियो । यसको अभाव अनि महत्वलाई मध्यनजर गर्दै जिल्लामा केही समयअघि नाट्या समुह दर्ता गरिएको हो । ‘झुपडीको व्याथा’बाट नाटक देखाउन थालेको समुहले हरेक महिना फरक–फरक विषयमा नाटक प्रदर्शन गर्ने जनाएको छ ।
जिल्लामा हालसम्म प्रचलनमा नरहेको नाट्या बिद्यालाई शसक्त बनाउनका लागि नाट्या समुहलाई क्रियासिल बनाइएको अध्यक्ष प्रकाश रिजालले बताउनुभयो । ‘जिल्लामा रंगमञ्च र ललितकलालाई प्रोत्साहित र स्थापित गराउनु हाम्रो मूल लक्ष्य हो,’ अध्यक्ष रिजालले भन्नुभयो, ‘कलाका माध्यमबाट हामी जिल्लामा सिर्जनात्मक कामहरु पनि गर्ने छौँ ।’