विद्यार्थीले लगाएको ताला सात घण्टापछि खोलियो

खोटाङ, ३१ भदौ । विभिन्न माग राखेर खोटाङको दुर्छिमस्थित दुर्छिम उच्च माविमा विद्यार्थीले लगाएको ताला सात घण्टापछि खोलिएको छ । विभिन्न नौं बुदे माग राखेर विद्यार्थीले बिहान दश बजे लगाएकोे ताला छानविन समिति गठन गरिएपछि बेलुका पाँच बजे खोलिएको हो ।

विद्यार्थीले ताला लगाएपछि बसेको सर्वदलीयसर्वपक्षीय बैठकले गठन गरेको छानविन समितिले हप्तादिनभित्र प्रतिवेदन बुझाउने सहमती गरेपछि ताला खोलिएको जनाइएको छ । विद्यार्थीले कम्प्युटर खरिदमा भएको घोटला छानविन गरी कारबाही गरिनुपर्ने, नियमित पठनपाठन हुनुपर्ने, विद्यालयबाट बितरण गरिने छात्रवृत्ति वितरणमा भएको अनियमितता पादर्शी गराउनुपर्ने, पुस्तकालयको व्यवस्था गरिनुपर्ने, विद्यालयमा व्यवस्थित शौचालय निर्माण गरिनुपर्ने, खानेपानीको व्यवस्था गरिनुपर्ने, व्यवस्थित कक्षाकोठाको व्यवस्था गरिनुपर्ने, खेलकुद सामाग्री उपलब्ध गराइनुपर्ने र अभिभावकहरुको नियमित बैठक राखिनुपर्ने माग गरेका थिए ।

आफूहरुले राखेका मागका विषयमा पटकपटक छलफल गरेर सहमती गरिएपनि प्रधानाध्यापक विष्णु राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपेन्द्र राईले कार्यान्वयन नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नु परेको विद्यार्थी क्लवका अध्यक्ष स्नेहा राईले बताउनुभयो । “विद्यालयमा भएको अनियमितापछि हामीले गत साउन २७ गते नौं बुदे माग राखेका थियौं ।” उहाँले भन्नुभयो, “भदौ ४ गते र १८ गते बसेको बैठकमा हप्ता दिनभित्र माग पुरा गर्ने सहमती भएको थियो तर, अहिलेसम्म उनीहरुले बेवास्ता गरेका कारण अनिश्चितकालीन तालाबन्दी गरेका हौं ।”
विद्यार्थीका अनुसार उक्त विद्यालयमा लामो समयदेखि नियमित पठनपाठन हुन छाडेको छ । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका नेतासमेत रहेका अध्यक्ष राईले विद्यालयमा राजनीति गरेले पठनपाठनमा अवरोध आइपरेको विद्यार्थीको आरोप छ ।
विद्यालयका अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा ठूलो मात्रामा विद्यालयको आर्थिक अनियमितता भएको अभिभावकको आरोप छ । विद्यार्थीले राखेका मागप्रति अभिभावकले समेत ऐक्यवद्धता जनाएका छन् ।