
सिमपानी उच्च माबिमा अध्यययन गर्दाताका गुरु र साथीभाईका अगाडि उभिएर गीत गाउने अभ्यास थालेका मगर काठ्माण्डौंको ब्रिलियन्ट कलेज चावहिलमा स्नातक पूरागर्दासम्ममा परिपक्व गायक बनेर निस्किए । खोटाङको बाराहपोखरी–८ पिप्लेका मगरको यही लगावले नेपाली सांगीतिक आकाशमा एउटा एल्बम थपिएको छ, अर्को एल्बम थपिनेक्रममा छ । ‘पढ्न भनेर काठ्माण्डौं पसियो,’ मगरले भने, ‘कलेजको हरेक सांगीतिक कार्यक्रममा सहभागी हुनेक्रममा गीतसंगीत बढि प्राथमिकतामा पर्न थालेको हो ।’ उनको शव्दमा उनलाई रुचीले संगीतको बाटोमा डो¥याएको हो । बुवा दिपेन्द्रबहादुर मगर र आमा सरीमायाँ मगरको पाँच भाई र तीन बहिनीमध्ये जेठो सन्तान हुन् भरत ।
शंकरदेब क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर मगर अहिले पेशाले शिक्षक हुन् । हाल इमाडोल, ललितपुर बस्दैआएका उनी पढाउनकालागि रिलायन्स मेनेजमेन्ट लगायतका बिभिन्न कलेजमा धाउँछन् । कोठाबाट बिहान हिँडेका मगर साँझ मात्र आइपुग्छन् । व्यस्तताकाबीच पनि उनी बिहान सबेरै एक घण्टा र बेलुका एक घण्टा स्वरको अभ्यास गर्छन् । संगीतमा ‘भरत खोटाङ्गे’ नामले परिचित उनले संगीतमा वि म्यूज पुरा गरेका छन् । ‘संगीत भनेको ज्यूने आधार रहेछ, जती खेलेपनि नथाकिने खेल रहेछ,’ मगरले भने, ‘आगामी दिनमा पनि संगीतलाई निरन्तरता दिइरहने छु ।’
रहरै रहरमा गीत गाउन थालेका मगरले २०७० सालमा पाँच वटा गीत समेटिएको ‘मायाको आशैमा’ नामक एल्बम बजारमा ल्याए । स्वयं मगर, श्रृजन थापा र नयन सोडारीको शव्द तथा केदार नेपाली, विष्णु तामाङ, मिलन तिम्सिना र श्रृजन थापाको संगीत रहेको सो एल्बममा ‘मायाको आशैमा, नेपाली हुँ म, आजभोली किन किन, जुनले नी सितल छर्ने र रोमान्समा हुने टुर’ बोलको गीत समाबेश छ । गीतमा खोटाङकै बराहा ताल, शंखेश्वरी लगायतका धार्मिक तथा पर्यटकीयस्थलको बयान छ । २०७० फाल्गुन–२४ गते वरिष्ठ गीतकार डा. भोला रिजालको हातवाट पहिलो एल्बम बिमोचन गराएका मगर दुई वर्षपछि दोश्रो एल्बम लिएर श्रोतामाझ आउँदैछन् । दोश्रो एल्बमकालागि राष्टिय गानका रचनाकार व्याकुल माइलाको शव्द र मिलन तिम्सिनाको संगीत रहेको ‘मनको कुरा सुनाउछु’ बोलको गीत ग्रीन टच स्टुडियो अनामनगरमा रेकर्ड भइसकेको छ । गीत रेकर्ड सुरु गरिएपनि हालसम्म दोश्रो एल्बमको नाम जुरेको छैन । यद्यपी, ‘मनको कुरा सुनाउछु’ बोलको शिर्षक गीतको आधारमा एल्बमको नाम ‘मनको कुरा’ राख्ने सल्लाह भइरहेको उनले बताए । यस्तै, सोही एल्बमको ‘तिमीलाई मैले मुटु दिएँ’ बोलको गीत रेकर्डको अन्तिम तयारीमा पुगेको छ । दोश्रो एल्बमको युगल गीतमा मगरलाई रिना बोगटीको साथ छ । ‘श्रोताको मायाँले अहिले दोश्रो एल्बमको गीत रेकर्डिङ भइरहेको छ,’ मगरले भने, ‘अहिलेसम्म नाम जुरेको छैन, ‘मनको कुरा’ राख्ने सल्लाह भइरहेको छ ।’