असोज–३, खोटाङमा नयाँ संबिधानको भव्य स्वागतको तयारी गरिएको छ । उद्योग बाणिज्य संघको सभाहलमा केही बेरअघि सम्पन्न कांग्रेस, एमाले र एमाओबादीका नेताहरुको बैठकले नयाँ संबिधानको स्वागतमा दुई दिनसम्म संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ ।

संबिधान जारी भएको घोषणा लगत्तै स्वागत र खुसीयालीमा संयुक्त विज्ञाप्ती सार्वजनिक गर्ने, आईतबार साँझ दिक्तेलको त्रिबेणीचोकमा संयुक्त दिपावली गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले बताए । यस्तै, सोमबार बिहान १० बजेपछि दिक्तेलबजारमा हर्ष र्‍याली निकाल्ने र स्थानीय हेलीप्याडमा सबैको सहभागीतामा खुसीयालीसभा गर्ने, एकआसपमा शुभकामना आदानप्रदानको तयारी गरिएको एमाले अध्यक्ष बबी चामलीङले जनाए ।

खुसियालीसभा सञ्चालनकालागि एमालेका बैकल्पिक केन्द्रीय सदस्य राजन राईलाई कार्यक्रमको प्रमुख अतिथि बनाउने, सभाको अध्यक्षता कांग्रेस सभापति बिष्णुकुमार राईलाई दिने र कार्यक्रम सञ्चालनको जिम्मा एमाओबादीलाई दिएर जिम्मेवारी बाँडफाँड गरिएको दलहरुले बताएका छन् । उनीहरुले स्वागत कार्यक्रममा सहभागीताकालागि सरकारी कर्मचारी र सर्वसाधारणलाई बिज्ञाप्तीमार्फत अपिल गरेका छन् । कार्यक्रममा संबिधानलाई स्वीकार गर्ने दल राप्रपा, नेकपा मालेलाई आतिथ्यताकालागि निमन्त्रणा गर्ने निर्णय भएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए । संबिधानको स्वागतमा दिपावली गर्न दिक्तेलका बिभिन्न स्थानका सडकबीचमै नेपालको नक्सा, राष्ट्रिय झण्डा, प्रदेशको नक्सां कोरिएका छन् ।

संबिधान आएको खुसीयालीमा कांग्रेस एमाले निकट भातृ संगठनहरुले पनि छुट्टा–छुट्टै स्वागत कार्यक्रम गरिरहेका छन् । आईतबार साँझ कांग्रेस निकट तरुण दलले सदरमुकाम दिक्तेलमा मोटरसाइकल र्‍याली गर्दैछ । एमाले नगर कमिटिले पनि आईतबार साँझ दिक्तेलमा दिपावलीको तयारी गरेको नगर कमिटि अध्यक्ष गोपाल आचार्यले जानकारी दिए । संबिधान घोषणा भएको खुसीयालीमा गाउँ–गाउँमा पनि स्वतःस्फुर्तरुपमा दिपावली मनाउने तयारी भएको छ । नयाँ संबिधान पाएको खुसीयालीमा एमाले निकट अनेरास्वबियुले शनिबार र युवा संघले शुक्रबार साँझ दिपावली गरेको थियो ।

यसैबीच, संघीय समाजबादी फोरम, नेकपा माओबादी बैद्य समुह र नेकपा माओबादी चन्द समुहले आव्हान गरेको बन्द आंशिक सफल भएको छ । बन्दलाई उद्योगी व्यवसायीले बेवास्ता गरेपछि बन्दकर्ता पुःन माइकिङ गर्दै बन्दकालागि आव्हान गर्दै बजार हिँडेका थिए ।