खोटाङ, असोज–२२, बिनासकारी भूकम्पकाबेला भाग्यबस बाँच्न सफल नेपालीको कथालाई समेटेर तयार पारिएको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ खोटाङमा प्रदर्शन सुरु गरिएको छ । पत्रकार कल्याण कोष स्थापनार्थ प्रेस चौतारी नेपाल शाखाको आयोजनामा सदरमुकाम दिक्तेलमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन सुरु गरिएको हो ।
देशदेखि बिदेशमासम्म प्रदर्शन गरिसकिएको डकुमेन्ट्रीको च्यारीटि–शो सदरमुकाम दिक्तेलस्थित हाइभिजन हलमा शुक्रबारबाट आयोजना गरिएको प्रेस चौतारी खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो । जिल्लामा क्रियासिल पत्रकारको हितमा कल्याणकारी कोष स्थापना गर्ने लक्ष्यकासाथ असोज–२२ र २३ गते बृत्तचित्र प्रदर्शन गरिएको हो । पत्रकार गणेश पाण्डेले निर्माण गरेको ५५ मिनेट लामो बृत्तचित्रमा बैशाख–१२ गतेको भूकम्पकाबेला धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि सो भूकम्पमा परेर बाँच्न सफल ७ नेपालीको कथालाई हेर्न सकिन्छ । भूकम्पको पीडाका अनुभव देख्न सकिने डकुमेन्ट्रीले दर्शकको उत्साह जनक सहभागीता पाएको छ । डकुमेन्ट्री शनिबार पनि शो गरिने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
डकुमेन्ट्रीमा धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामायाँ नेपालीको जीवनकथा, पाँच तले घरमा पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको अनुभव, काठमाडौँको नयाँ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनालको कथालाई हेर्न सकिन्छ ।
यस्तै, काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको ईनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ बर्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाएअनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई डकुमेन्ट्रीमा हेर्न सकिने आयोजकले जनाएको छ ।
भूकम्पमा परेकालाई जीवितै उद्दार गरेका स–शस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउँदा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका भूकम्प भोगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा देखिने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।