खोटाङ, कात्तिक–२०, जिल्ला दैविप्रकोप उद्धार समिति खोटाङले हप्ता दिनभित्र जिल्लाका भूकम्प पीडितलाई परिचयपत्र वितरण सक्न जिविसलाई निर्देशन दिएको छ । भूकम्प गएको सात महिना बितिसक्दा समेत भूकम्प पीडितले परिचयपत्र नपाएको भन्दै समितिले सात दिनभित्र भूकम्प पीडितलाई परिचयपत्र वितरण गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको समितिको बैठकले हालसम्म परिचयपत्र पाउनबाट वञ्चित बनेका भूकम्प पीडितलाई तत्काल परिचयपत्र बाँड्ने व्यवस्था मिलाउने निर्देशन दिइएको जिल्ला दैविप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले बताउनुभयो । गत वैशाख–१२ र २९ गतेको महाभूकम्प तथा त्यसको पराकम्पनका कारण घर पूर्णरुपमा भत्किएका र पुर्नमर्मत गरेपनि बस्न नमिल्ने
अवस्थाका अधिकांश पीडितले परिचयपत्र पाउन नसकेकाले तत्काल परिचयपत्र
बितरणका लागि जिविसलाई आग्रह गरिएको खड्काले जानकारी दिनुभयो ।

भूकम्पका कारण जिल्लाका ६ हजार १६७ घरमा पूर्ण क्षति र १२ हजार घरमा आंशिक क्षति पुगेको छ । आवास कर्जा लगायतका सहयोगका लागि भूकम्प पीडितलाई परिचयपत्र वितरणमा ढिलाइ गर्न नहुने खड्काले बताउनुभयो । समितिका अनुसार हालसम्म दिक्तेल नगरपालिका र अन्य सात गाविसमा मात्र भूकम्प पीडितलाई परिचयपत्र बाँडिएको छ ।

दिक्तेल नगरपालिकाले गत साउन–३ गतेबाट जिल्लामै पहिलोपल्ट भूकम्प पीडितलाई परिचयपत्र वितरण सुरु गरेको थियो । “भूकम्प गएको सात महिनासम्म परिचयपत्र नपाउनु दुःखद् कुरो हो ।” प्रजिअ खड्काले भन्नुभयो, “हालसम्म परिचयपत्र नपाएका भूकम्प पीडितलाई हप्ता दिनभित्र परिचयपत्र बाँड्न जिविसलाई आग्रह गरेका हौं ।”