
ओझेलमा परिरहेका खोटाङको पर्यटकीय क्षेत्र र सुन्दरताको प्रचार–प्रसार गर्दै खोटाङलाई पर्यटकको गन्तव्यकारुपमा बिकास गर्नका लागि कार्यक्रम गरिएको ‘नमस्ते खोटाङ’का संयोजक प्रकाश पुरीले बताउनु भयो । कार्यक्रममा बिभिन्न जातीय भेषभुषा, कलासंस्कृति र पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, नेवार समुदायको लाखे, राई समुदायको साकेला, संगीनी, बिभिन्न जातीय झाँकी प्रदर्शन, करातेको काँता लगायतका कला प्रदर्शनी गरिएको छ । समाबि दिक्तेलको प्रांगणमा आयोजित कार्यक्रममा हाँस्याकलाकार दिपकराज गिरी, गायीका मिलन अमात्य, सचिन राई लगायत स्थानीय कलाकारले दर्शकलाई मनोरञ्जन दिलाएका छन् ।
![]() |
‘नमस्ते खोटाङ’को दोश्रो संस्करणमा उपस्थित कलाकार दिपकराज गिरी लगायतका अथिति र कलाकारहरु । तस्बिर: हाम्रो खोटाङ डटकम |
नमस्ते खोटाङ बिबिध जातजाती र भाषाभाषीबीचको आपसी भाइचारालाई थप प्रगाढ बनाउन पनि महत्वपूर्ण हुने आयोजकको अपेक्षा छ । ‘कार्यक्रममार्फत खोटाङ गन्तव्य बनाउन सहयोग पु¥याउने लक्ष्य लिएका छौँ,’ संयोजक पुरीले भने, ‘यहाँ रहेका प्रतिभा, कला, संस्कारसंस्कृति तथा भेषभुषालाई समेत उजागर गर्नमा समेत मद्धत पुग्ने हाम्रो अपेक्षा छ ।’
खोटाङको महत्वलाई उजागर गराउनकालागि गत वर्ष अर्खौलेमा ‘नमस्ते खोटाङ’को पहिलो संस्करण सञ्चालन गरिएको थियो ।
रेखा थापाको अनुपस्थितिमा दर्शक निरास
‘नमस्ते खोटाङ’मा प्रस्तुतीकालागि निमन्त्रणा गरिएकी नायीका रेखा थापा अनुपस्थित भएपछि आधाभन्दा बढि दर्शक खल्लो मान्दै फर्केका छन् । नायीका रेखा थापालाई प्रत्यक्ष भेट गर्ने र प्रस्तुती हेर्ने मनसायले दिक्तेलमा शनिबार दर्शकको बाक्लो भीड लागेको थियो । थापाको बिशेष प्रस्तुती रहने भन्दै आयोजकले महिनादिन अघिदेखि प्रचार–प्रसार गरेको थियो । स्थानीय एफएम, पत्रपत्रिका र पर्चा पम्प्लेटमा भनिए अनुशार नायीका थापा नआएपछि टिकट काटेर कार्यक्रम स्थल प्रबेश गरेका कतिपय दर्शक कार्यक्रम सकिनु अगावै हिँडेका थिए ।
कार्यक्रममा सहभागी हुन आउने निश्चित गरिएका नायीका थापा सम्पर्क बिहिन बनेपछि तामझामकासाथ सुरु गरिएको कार्यक्रम खल्लो बन्न पुगेको हो । प्रचार गरिए अनुशार थापासँगै नवल खड्का लगायतका अन्य आमन्त्रीत कलाकारहरु समेत आएनन् ।
खानिडाँडा विमानस्थलबाट नायीका थापा आउने कार्यक्रम तय भएपनि अन्तमा सम्पर्क बिहिन बनेको कार्यक्रम संयोजक पुरीले उद्घोषणकै क्रममा स्पष्ट पार्नुभयो । थापालाई हेलिकोप्टर चार्टर गरेरै ल्याउने प्रयास समेत विफल भएको आयोजकले बताएको छ । गत वर्ष नायक राजेश हमाल लगायतका कलाकारलाई ल्याएको आयोजकले यसपल्ट नायीका थापालाई ल्याउनेमा दर्शक बिश्वस्त थिए ।