खोटाङ, कार्तिक २३ । अपांगता भएका व्यक्तीको सहयोगार्थ खोटाङमा सञ्चालन गरिएको सांगीतिक कन्सर्टबाट ८० हजारभन्दा बढि सहयोग रकम संकलन भएको छ । अपांगता भएका किशोरकिशोरीद्धारा सञ्चालित पुर्वेली सरगम संगीत बिद्यालयको सहयोगार्थ सदरमुकाम दिक्तेलमा सञ्चालन गरिएको सांगीतिक कन्सर्टबाट ८७ हजार ३११ रुपैयाँ सहयोग जुटेको हो ।
कन्सर्टमा दर्शक नचाउँदै  र्याफ्सोडी नेपाल व्याण्डका कलाकारहरु ।
संगीत बिद्यालयको सहयोगार्थ दिक्तेलबजारका युवाले बिहिबार पूरानो बेसक्याम्पमा ‘ओपन’ कन्सर्ट र शुक्रबार साँझ जिबिसको समिक्षालयहलमा ‘इन्डोर’ कन्सर्टको आयोजना गरेको थियो । कार्यक्रममा राखिएको ‘दान बाकस’मा स्वतःस्फुर्तरुपमा संकलन भएको सहयोग रकम औपचारिक कार्यक्रममार्फत संगीत बिद्यालयलाई हस्तान्तरण गरिने आयोजक समितिका सदस्य पेम्बा तामाङले बताए । 
सांगीतिक कन्सर्टमा ¥याफ्सोडी नेपाल व्याण्डका कलारकार, नेपाल ताराको टप फोर प्रताप दास, खोटाङका गायक प्रदीप राई, अनिल राई लगायत स्वयं पुर्वेली सरगम संगीत बिद्यालयका कलाकारको प्रस्तुतीले चिसो मौसममा पनि दर्शकलाई तताएको थियो । अगाडि ‘दान बाकस राखेर’ पहिलो दिन सडकबीचमै सांगीतिक कन्सर्ट देखाएको आयोजकले दोश्रो दिन समिक्षालय हलमा इन्डोर कन्सर्ट देखाएको हो । दुबै दिनको कार्यक्रम राती ८ बजेसम्म जारी राखिएको थियो । 
सोही संगीत बिद्यालयको व्यवस्थापन सहयोगार्थ आउँदो तिहारमा देउसीभैली खेल्ने तयारी गरिएको कार्यक्रमका संयोजक सुचन राईले बताए । ‘अपांग भाईबहिनीको संगीत बिद्यालयकालागि सांगीतिक कन्सर्टबाट केही रकम जुटाउन सफल भएका छौँ,’ कार्यक्रम संयोजक राईले भने, ‘सहयोग रकम उठाउने कामलाई तिहारमा देउसीभैली खेलेर पनि निरन्तरता दिने छौँ ।’