मंसिर–१, जिल्लाको पूर्वी गाविस नेर्पाले स्थानीय खोलाहरुमा करेण्ट लगाएर माछा मार्नमा रोक लगाएको छ । करेण्टले माछा तथा माछाका भुराका साथै खोलामा पाइने जलचरसमेत लोप हुँदै गएपछि रोक लगाएको हो ।
करेण्ट लगाएर माछा मार्नेक्रम दिनानुदिन बढ्दै गएपछि सर्वपक्षीय भेला बसाएर यस्तो निर्णय गरिएको गाविस सचिव नवराज खतिवडाले बताउनुभयो । “करेण्ट लगाएर माछा मार्नेक्रम दिनानुदिन बढ्दै गएको सर्वत्र गुनासो आयो ।” उहाँले भन्नुभयो, “गाविसकै तर्फबाट रोक लगाउनुपर्छ भन्ने कुरा आएपछि रोक लगाउने निर्णय गरिएको हो ।”
गाविसले गरेको निर्णय उलङ्घन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही हुने सचिव खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार गाविस आसपासका सबै खोलामा करेण्ट लगाउन रोक लगाइएको छ । नेर्पाका युवाहरुले यसअघि खुलेआम रुपमा स्थानीय खोलाहरुमा करेण्ट लगाएर माछा मार्ने गरेका थिए । माछाका लागि राम्रो वातावरण मानिएको नेर्पामा असला, कत्ले, हिले लगायत विभिन्न प्रजातिका माछा पाइन्छ ।
यसअघि जिल्लाका अन्य गाविसले पनि करेण्ट लगाउन रोक लगाएको भएपनि कार्यान्वयन भएको छैन । उक्त क्षेत्रहरुमा अहिले पनि रातको समयमा स्थानीय युवाहरुले लुकीछिपी माछा मार्ने गरेको पाइएको छ ।