खोटाङ, मंसिर २ । खोटाङमा बीना अनुमती ड्रोन क्यामेराबाट दृश्य कैंद गर्ने क्यामेरामेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रशासनको स्वीकृतिबीना ड्रोन क्यामेरा प्रयोग गरेर सदरमुकाम दिक्तेलस्थित हाटडाँडा क्षेत्रको भिडियो दृश्य रेकर्ड गरिरहेको अवस्थामा अमेरिकास्थित ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत धनमान थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 बिना अनुमती ड्रोन क्यामेराबाट दृश्या कैंद गरिरहेको भेटिएपछि अनुसन्धानकालागि म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भएका थापालाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रबाटै प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । थापाको साथबाट ड्रोन क्यामेरा, क्यामेराको स्ट्याण्ड, रिमोट, मोवाइल लगायतका सामाग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थापाको साथमा ह्वाईट हिमाल टेलीभिजनको प्रेस पास भेटिएको छ । प्रहरीका अनुशार गृह–मन्त्रालयले ड्रोन क्यामेराको प्रयोग सम्बन्धी निर्देशीका कार्यान्वयनमा ल्याएको केही समयपछि थापा ड्रोन क्यामेरा प्रयोग गरिरहेको अवस्थामा प्रहरी नियन्त्रणमा परेका हुन् ।

गृह–मन्त्रालयले गत कात्तिक देखि सूचना तथा सञ्चार मन्त्रालय वा उड्यान प्राधिकरणसँग पूर्वस्वीकृति लिएर सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मात्र ड्रोन क्यामरा प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गरेको छ । सो निर्देशिका अनुशार ड्रोनबाट लिइएका तस्बिर तथा भिडियो सुरक्षा संगठनलाई अनिवार्य रुपमा बुझाउनुपर्ने हुन्छ । धार्मिक तथा सांस्कृतिक स्थल, सुरक्षाका दृष्टीले संवेदनशील क्षेत्र, हवाई मार्गमा असर पर्ने क्षेत्रमा ड्रोन उडानमा रोक लगाएको निर्देशिकामा उल्लेख छ ।

थापा भूकम्पले क्षती पु¥याएको नुनथलास्थित जालपा माविको भिडियो खिच्न राजधानी काठमाडौंबाट मङ्गलबार खोटाङ आएको सोधपुछबाट खुलेको प्रहरीको भनाई छ । उनले जिल्लाको पर्यटन सम्बन्धी सामग्रीकालागि सदरमुकाम दिक्तेलको दृश्य कैंद गरेको बताएको डिएसपी माझीले जनाए । पक्राउ परेका थापालाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

स्वीकृतीबिना ड्रोन क्यामराबाट तस्बिर तथा भिडियो खिच्ने व्यक्तीलाई नागरिक उड्यान प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रावधान गृह–मन्त्रालयको निर्देशिकामा उल्लेख भएपनि प्रहरी नियन्त्रणमा रहेका थापा विरुद्ध चलाइने मुद्दाका बिषयमा यकीन नभएको प्रहरीले जनाएको छ ।