खोटाङ, ३ मङ्सिर । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि जिल्ला कारागार खोटाङमा समस्या सिर्जना भएको छ । ३३ महिला र ६६ जना पुरुषका लागि निर्माण गरिएको कारागारमा अहिले १३४ जना कैदीबन्दी भएपछि समस्या भएको हो । 
दिक्तेलस्थित थामखोरेमा रहेको कारागारमा अहिले चार बच्चासहित १६ महिला र ११४ जना पुरुष कैदीबन्दी रहेको कारागारका जेलर चित्राखर आचार्यले बताउनुभयो । जेलर आचार्यका अनुसार कारागारको क्षमताभन्दा ३५ जना बढी भएको छ ।
कैदीबन्दी बढी भएपछि उनीहरुका लागि खानेपानी, सौचालय र सुत्ने ठाउँको समस्या देखिएको अनुगमनमा पुग्नुभएका सामाजिक कानूनी सहायता केन्द्र खोटाङका कानून अधिकृत कुबेरकाजी राईले बताउनुभयो । कारागारमा यसअघि पनि सौचालय र खानेपानीको व्यवस्था राम्रो नभएको कैदीबन्दीहरुले बताउँदै आएका थिए । 
जिल्ला प्रहरी कार्यालय खोटाङले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको जनाइएको छ । प्रहरीले गत भदौदेखि हालसम्म विभिन्न घटनामा संलग्नरही फरार रहेका ७७ भन्दा बढी अभियुक्तलाई पक्राउ गरिसकेको छ ।